.jpg)
अभिनेता तथा निर्माता दिल श्रेष्ठ दर्शकमाझ कम परिचित भए पनि अभिनयमा आफ्नो प्रभाव भने छाडेका छन् । २०६८ सालमा प्रदर्शन भएको फिल्म ‘पर्खि राख है’बाट उनले अभिनय यात्राको श्रीगणेश गरेका थिए । यसपछि करिब ६ वर्ष व्यक्तिगत र व्यावसायिक जीवनमा व्यस्त रहेका उनले २०७४ सालमा प्रदर्शन भएको फिल्म ‘हिरो रिटर्न्स’बाट कमब्याक गरे ।
अब उनी ९ वर्षपछि फिल्म अभिनयमा फर्किएका छन् । उनको मुख्य भूमिका रहेको फिल्म ‘माया भनेकै यस्तो होला’ तीजको छेको पारेर भदौ २६ गते प्रदर्शनमा आउँदैछ । अभिनेत्री रेखा थापाको निर्देशनमा बनेको यस फिल्ममा दिलसहित मदनकृष्ण श्रेष्ठ, सृष्टि श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ, उषा खड्गीलगायतका कलाकारहरूको अभिनय रहेको छ ।
डेब्यू फिल्मपछि बीचमा दुई पटक लामो विश्राम लिएका दिल अब भने अभिनयलाई निरन्तरता दिने सोचमा छन् । उनी यो क्षेत्रबाट आफू टाढा हुन नसक्ने बताउँछन् । भन्छन्, ‘मैले बीचमा फिल्म नगरे पनि निरन्तर अपडेट छु । म फिल्ममा काम गरौँ वा नगरौँ, यो क्षेत्रबाट टाढा हुन सक्दिनँ । यो पटक मैले अघिल्ला फिल्महरूमा गरेका कमी कमजोरीलाई परिमार्जन गर्दै काम गरेको छु ।’
‘माया भनेकै यस्तो होला’मा आफ्नो काम दर्शकले मन पराउनेमा उनी विश्वस्त छन् । राम्रो टिम र अग्रज कलाकारहरूसँग काम गर्ने अवसरले आफूलाई अझ जिम्मेवार बनाएको उनको भनाइ छ । मदनकृष्ण श्रेष्ठ र रेखा थापाजस्ता कलाकारसँग स्क्रिन सेयर गर्नु चुनौतीपूर्ण भए पनि त्यसलाई आफूले सिक्ने अवसरका रूपमा लिएको उनले बताए ।
दिया एण्ड अमु फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्मातामा छन् । सुदीप बरालको छायांकन रहेको फिल्ममा प्रशान्त सिवाकोटीको संगीत तथा ध्रुव लम्सालको पटकथा लेखन छ । फिल्मले प्रेमकथाको माध्यमबाट पारिवारिक सम्बन्धका विभिन्न आयामलाई प्रस्तुत गर्ने जनाइएको छ ।

