Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हली’को मर्मस्पर्शी गीत ‘कहाँबाट ल्याऊँ बाबा’ सार्वजनिक

फिल्मीखबर, काठमाडौं, 2026/07/17

Pramod Deep

 

‘मोहर’का निर्देशक ओम प्रतीकको निर्देशनमा बनेको फिल्म ‘हली’को मर्मस्पर्शी गीत ‘कहाँबाट ल्याऊँ बाबा’ सार्वजनिक गरिएको छ । प्रमोद दीपको शब्द, अभि सुनारको संगीत तथा अस्मिता अधिकारीको स्वर रहेको गीतले असैह्य पीडामा रहेकी छोरीले बाबुलाई सम्झिँदै अन्धकारबाट निकालेर आफूलाई साथमा लैजान गरेको याचनालाई प्रस्तुत गरेको छ । 

फिल्मको यसअघि ‘चानस पाए त’ बोलको प्रवर्द्धनात्मक गीत सार्वजनिक भएको थियो । बाबुल गिरी र शान्तिश्री परियारको स्वरमा रहेको गीतलाई एक वर्षमा युट्युबमा २६ लाखभन्दा बढीले हेरिसकेका छन् । गीतको भिडियोमा दीपाश्री निरौला, किरण केसी, दीलिप रायमाझी, प्रियंका कार्की र पूजा शर्माले नृत्य प्रस्तुत गरेका छन् । उनीहरू फिल्मको उक्त गीतमा मात्र देखिनेछन् । 

छाउपडी प्रथा र किसानको संघर्षको कथामा आधारित यस फिल्ममा सरोज खनाल, प्रमोद दीप, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, विशाल पहाडी, कमल गाउँलेलगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । निर्देशक प्रतीक स्वयंको पनि फिल्ममा मुख्य भूमिका रहेको छ । फिल्मलाई पूजा गुरुङ र जस्मिन श्रेष्ठले निर्माण गरेका हुन् ।

जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायू फिल्म्सको सहकार्यमा निर्माण भएको फिल्मको कार्यकारी निर्मातामा अर्जुन भुसाल रहेका छन् भने नम्रता भण्डारी सह-निर्मातामा छिन् । फिल्ममा राहुल राईको छायांकन, रामप्रसाद चौधरीको सम्पादन तथा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको छ । यो फिल्म साउन २२ गतेबाट प्रदर्शनमा आउँदैछ ।