Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बालेन शाहलाई ‘बलिदान’ अफर गरेको सन्तोष सेनको खुलासा

फिल्मीखबर, काठमाडौं, 2026/07/16

santosh sen and balen shah

 

गत वर्षको दशैंमा प्रदर्शन भएको फिल्म ‘बलिदान’ घरेलु बक्स अफिसमा अपेक्षित चल्न सकेन । ६ करोडमाथिको लगानीमा निर्माण भएको फिल्मको कमाइ ५ करोडमुनि नै अड्कियो । जसले गर्दा फिल्मका निर्माता सन्तोष सेनले ठूलो घाटा बेहोर्नुपर्‍यो । एक्सन पक्ष बलियो हुँदाहुँदै पनि प्रस्तुतिकरण र पटकथा कमजोर हुँदा फिल्म असफल हुन पुगेको थियो । 

‘बलिदान’ प्रदर्शन भएको एक वर्ष पुग्न लाग्दा निर्माता सेनले एउटा रहस्य खोलेका छन् । हालै एक अन्तर्वार्तामा उनले फिल्मका लागि पहिलो रोजाइ काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर तथा हालका प्रधानमन्त्री बालेन शाह रहेको खुलासा गरेका हुन् । फिल्मको अभय पात्रका लागि प्रधानमन्त्री शाहलाई अफर समेत गरेको उनको भनाइ छ ।

‘मैले ‘बलिदान’मा हिरो बनाउन खोजेको बालेन शाहलाई नै थियो । ‘स्टोरीलाइन’ पठाएर फिल्म अफर पनि गरेको थिएँ । कुमार बेनमार्फत पनि कुरा राखेको थिएँ,’ उनले भनेका छन्, ‘मलाई उहाँ ‘हिरो लुक’ लाग्छ । उहाँको ‘एटिट्यूड’ पनि ‘हिरोइज्म’ खालको छ । साउथ हिरोको जस्तो ‘एटिट्यूड’ र अदा छ । यसैले मैले फिल्ममा उहाँ भइदिए यसरी कथा भन्थेँ भनेर सोचेको थिएँ ।’

बालेन शाहले फिल्मको कथा मन पराए पनि समय व्यस्तताका कारण काम गर्न नसकेको उनले बताए । उनले भने, ‘त्यसबेला उहाँले ‘टाइमिङ’को कुरा गर्नुभयो । मभन्दा पनि हिरो नै लिनु भन्ने सल्लाह दिनुभयो । तर, उहाँमा मैले ‘हिरोइज्म’ देखेको छु । उहाँ हिँड्दा होस् वा बोल्दा, हिरोमा हुने ‘एटिट्यूड’ र अदा छ । यसैले पनि फिल्म अफर गरेको थिएँ । त्यसबेला संयोग मिलेन ।’

फिल्म अफर गर्दा नै आफूले बालेन शाह प्रधानमन्त्री हुन्छन् भन्ने कुराको भविष्यवाणी गरेको समेत उनले स्मरण गरे । ‘मेयर हुँदा नै उहाँ देशको प्रधानमन्त्री बन्नुहुन्छ भन्नेमा म निश्चिन्त थिएँ । उहाँ बन्नु पनि भयो । अहिले राम्रो काम गरिरहनुभएको छ । कहिलेकाहीँ सही नियतका साथ काम गर्दा सोचेअनुरुप नहुन पनि सक्छ । तर, उहाँको नियत भने सफा छ,’ उनले भने ।