Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दशैंमा ‘डबल ट्रिपल’ ल्याउँदै अशोक शर्मा !

फिल्मीखबर, काठमाडौं, 2026/07/07

ashok sharma

 

दशैं हरेक निर्माताको रोजाइमा पर्ने गरेको छ । लामो विदा र दर्शक ‘फेस्टिभ मुड’मा हुने भएकाले फिल्मको व्यापार राम्रो हुने विश्वासमा दशैंको मिति कब्जा गर्न हरेक वर्ष निर्माताहरूबीच हानाथाप हुने गर्छ । गत वर्षकै कुरा गर्ने हो भने दशैंमा एकसाथ तीन फिल्म प्रदर्शनमा आएका थिए । यस वर्षको दशैंमा प्रतिस्पर्धा झन् रोचक हुने संकेत देखिएको छ ।

अहिलेसम्म चार फिल्म ‘छ माया छपक्कै २’, ‘१२ गाउँ २’, ‘आ बाट आमा २’ र ‘बाटुलो जून’ले दशैंलाई प्रदर्शन मिति तय गरिसकेका छन् । यसमध्ये ‘आ बाट आमा २’ र ‘बाटुलो जून’ असोज ३० मा आउँदैछन् । ‘छ माया छपक्कै २’ र ‘१२ गाउँ २’ भने फूलपातीको दिन प्रदर्शन हुने सम्भावना छ । अब यी चार फिल्मलाई चुनौती दिन दशैंमा अर्को फिल्म पनि आउने भएको छ । 

निकट स्रोतका अनुसार निर्देशक तथा निर्माता अशोक शर्माले आफ्नो नयाँ फिल्म ‘डबल ट्रिपल’लाई दशैंमा ल्याउने निधो गरेका छन् । उनले केही दिनभित्र फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फूलपातीको अघिल्लो दिन अर्थात् असोज ३० गतेलाई प्रदर्शन मिति घोषणा गर्न लागेको बताइएको छ । उनले केही महिनाअघि नै फिल्मको छायांकन पूरा गरिसकेका छन् । 

‘डबल ट्रिपल’लाई अशोक स्वयंले निर्देशन गरेका हुन् भने फिल्ममा दयाहाङ राई, केकी अधिकारी, खगेन्द्र लामिछाने, मिरुना मगर, विल्सन विक्रम राईलगायतको अभिनय रहेको छ । अब यो फिल्म दशैंमा आउने भएपछि ५ फिल्मको भिडन्त रोचक हुने देखिन्छ । त्यसमाथि हरेक फिल्ममा ‘स्टार’ कलाकार रहेकाले कुन फिल्मले बाजी मार्छ भन्ने चासो पनि बढेको छ ।