
‘सरी मम’ नाममा फिल्म निर्माण हुने भएको छ । बिहीवार काठमाडौँको भद्रकाली मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मको छायांकन पनि सुरु गरिएको छ । क्यामेरा र स्क्रिप्ट पूजा गर्दै छायांकन थालिएको फिल्मका लागि सरीता लामिछाने र प्रभात पलले मुहूर्त सर्ट दिएका थिए । मुहूर्त समारोहमा वितरक गोपालकाजी कायस्थले क्ल्याप ठोकेका थिए भने रञ्जीत रानाले निर्देशन गरेका थिए ।

हलिउड अभिनेता सिल्भियो सिमाक नेपाल आउने भएका छन् । एक्सन फर नेसन्सको आयोजनामा २६ मार्च (चैत १२) २०२२ मा काठमाडौंमा हुन लागेको महिला सशक्तिकरणका लागि आत्मरक्षा तालिममा सहभागि हुन उनी पहिलो पटक नेपाल आउन लागेका हुन् । एक्शन फर नेसन्सको सद्भावना दूत समेत रहेका उनी मार्शल आर्टिस्ट र विश्व च्याम्पियन समेत हुन् ।

अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको मुख्य भूमिका रहेको फिल्म ‘ए मेरो हजुर ४’को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा बिग मुभिजमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा प्रेम, रोमान्स, विछोड, कमेडी मिश्रित छ । अनमोल र सुहानाको प्रेममा परिवार तगारो बनेपछि उत्पन्न हुने परिस्थितिलाई ट्रेलरमा देखाउन खोजिएको छ । ट्रेलर कलरफूल छ ।

एक नाबालिगलाई बलात्कार गरेको अभियोग लागेका अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत, तनहुँले आदेश दिएको छ । बिहीवार लामो समय चलेको थुनछेक बहसपछि न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले शाहलाई थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउन आदेश दिएको हो । अब पल शाहले कारागारमै रहेर कानुनी लडाईं लड्नु पर्नेछ ।

डा. कपिल रिजाल निर्देशित रोमान्टिक कमेडी फिल्म ‘ह्यारी की प्यारी’को सम्पूर्ण छायांकन सकिएको छ । कोरोनाविरुद्धको खोप लगाएका कलाकार र प्राविधिकको टोली जुटाएर पर्वतबाट छायांकन सुरु भएको फिल्मको डेढ महिनामा बुधवार इन्डक्ल्याप भएको हो । डा. रिजालले काठमाडौंसहित पोखरा, पर्वत, चितवनलगायतका स्थानमा फिल्मको छायांकन भएको जानकारी दिए ।

फिल्म स्टारकास्टले चल्छ भन्ने मान्यताको पर्खाल भत्काएको बलिउड फिल्म ‘द कश्मीर फाइल्स’ले बक्सअफिसमा ऐतिहासिक कमाई गरेको छ । प्रदर्शनको पहिलो दिन ३ करोड ५५ लाख कमाएको फिल्मले दुई हप्ता पनि पूरा नगर्दै २ सय करोड छापेको छ । बलियो ‘वर्ड अफ माउथ’ले दोस्रो दिनबाट कमाईमा उछाल कायम गरेको फिल्मले पहिलो हप्तामै सय करोड कमाएको थियो ।

