Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सतीदेवी’ अहिलेसम्मकै सबैभन्दा राम्रो फिल्म : निर्देशक सुवेदी

फिल्मीखबर, काठमाडौं, 2024/08/20

कला पत्रकारिता हुँदै फिल्म निर्देशनमा होमिएका लक्ष्मण सुवेदीले पहिलो फिल्मदेखि नै फरक-फरक कथा भन्दै आइरहेका छन् । पहिलो फिल्म ‘एउटा साथी’ प्रेमकथामा र दोस्रो फिल्म ‘लालजोडी’ कमेडी कथामा बनाएका उनले यही भदौ ७ गतेदेखि प्रदर्शनमा आउन लागेको तेस्रो फिल्म ‘सतीदेवी’मा सामाजिक कथा उठाएका छन् । फिल्मले छोरीप्रति गरिने लैङ्गिक विभेदको कथा बोल्छ ।

लक्ष्मणलाई फिल्मले उठाएको कथा विश्वकै हो भन्ने लाग्छ । र, फिल्मले महिला सशक्तिकरणमा ठूलो भूमिका खेल्ने उनको विश्वास छ । ‘छोरीहरुमाथि गरिने विभेद नेपालको मात्र होइन, विश्वकै समस्या हो,’ निर्देशक सुवेदी भन्छन्, ‘धेरै छोरी हुँदा छोरा भए हुन्थ्यो भन्ने मानसिकता र बुबा-आमामा पनि देखिने एकखालको हीनताबोधलाई मैले एकदमै नजिकबाट नियालेर ‘सतीदेवी’ बनाएको हुँ ।’

 

Laxman Subedi


फिल्मलाई ग्रामीण परिवेशमा बनाएको भए पनि जुनसुकै देशमा संवाद ‘म्यूट’ गरेर देखाउँदा पनि बुझिने लक्ष्मणको दाबी छ । उनी ‘सतीदेवी’लाई अहिलेसम्मकै राम्रो फिल्म मान्छन् । ‘म स्क्रिप्ट लेख्दा नै धेरैपटक रोएको थिएँ । म दाबी गरेर भन्न सक्छु, अहिलेसम्म रिलिज भएका नेपाली फिल्ममध्ये ‘सतीदेवी’ सबैभन्दा राम्रो बनेको छ । यो मैले फिल्म चलाउनका लागि भनेको होइन,’ उनले भने ।

लक्ष्मण आफूलाई ‘कन्टेन्ट’मा फिल्म बनाउने निर्देशक मान्छन् । र, उनी ‘कन्टेन्ट’ले मागेको कलाकार मात्र फिल्ममा लिन चाहन्छन् । कलाकारले मागेको ‘कन्टेन्ट’मा उनलाई फिल्मै बनाउनु छैन । न त उनी ‘स्टार’कै पछि दौडिएका छन् । ‘सतीदेवी’मा पनि ‘स्टार’ छैनन् । बरु उनी फिल्मका कलाकारलाई ‘चन्द्रमा’को संज्ञा दिन्छन् । ‘स्टार’ भन्दा ‘चन्द्रमा’कै महत्त्व बढी हुन्छ भन्ने उनलाई लाग्छ ।

‘सतीदेवी’को रिलिज नजिकिँदै गर्दा निर्देशक सुवेदीलाई डर भने छैन । फिल्म राम्रो बनेकाले सफल हुनेमा उनी विश्वस्त देखिन्छन् । यो फिल्मलाई आफ्नो ‘ज्यान-प्राण’ मानेका उनले सिक्वेल पनि बन्न सक्ने संकेत गरेका छन् । ‘दर्शकको राम्रो साथ मिल्यो भने दोस्रो श्रृंखला पनि सम्भव छ,’ उनले भनेका छन् । ‘सतीदेवी’ प्रदर्शनपछि लक्ष्मण ‘पार्वती’ शीर्षकमा फिल्म बनाउने तयारीमा रहेका छन् ।

Most Visited News (monthly)