मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनमोलको व्यंग्यमा प्रदीपको जवाफ- ‘उहाँको विवेक र सोचको कुरा हो’

फिल्मीखबर, काठमाडौं, 2024/05/08

नयाँ छिमलका सुपरस्टार हुन्, अनमोल केसी र प्रदीप खड्का । लगभग एकै समयमा नेपाली फिल्ममा दुवैको उदय भएको थियो । उनीहरुलाई रुचाउने दर्शक समूह पनि एउटै छ । र, दुवै रोमान्टिक भूमिकामा बढी रुचाइन्छन् । यसैले पनि उनीहरुलाई एकअर्काका प्रतिस्पर्धी भन्ने गरिएको छ । त्यो प्रतिस्पर्धा बेला बखतमा उनीहरुको अभिव्यक्तिमा पनि झल्किन्छ । मौका पाउनुपर्छ, दुवैले एकअर्कालाई ठुँग हानिरहेका हुन्छन् ।

केही हप्ताअघि एक फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा अनमोलले आफूसँग अरु कलाकारको जस्तो १० वटा फिल्म नभएको भन्दै अभिव्यक्ति दिएका थिए । उनको यो टिप्पणीलाई प्रदीपप्रति व्यंग्य भनेर व्याख्या गरिएको छ । हुन पनि यतिबेला प्रदीपले लगातार फिल्म सम्झौता गरिरहेका छन् । अनमोलले भनेजस्तै प्रदीपको हातमा लगभग १० वटै फिल्म छ । तर, एउटा प्रशंगमा अर्को कलाकारप्रति व्यंग्य गर्नु शोभनीय नभएको भन्दै अनमोलको आलोचना भइरहेको छ ।

 

pradeep khadka


अन्ततः प्रदीपले पनि अनमोललाई जवाफ फर्काएका छन् । उनलाई लाग्छ, जसले जे बोल्यो त्यो उसको विवेक र सोचको कुरा हो । मंगलबार फिल्म ‘पूजार सार्की’को ट्रेलर सार्वजनिक कार्यक्रममा उनले भने- ‘पहिला मैले ४ वर्षमा एउटा फिल्म पनि गरेँ । अब एक वर्षमा ४ वटा गरेर हेर्छु भनेर म आफैंले निर्णय गरेको हुँ । मेरो विवेकले जति भ्यायो, जे सिकेँ र जे बुझेँ म त्यही गर्दैछु । जसले जे बोल्नुहुन्छ, त्यो उहाँको विवेक र सोचको कुरा हो । त्यसमा मैले केही भन्न सक्दिनँ ।’

उनी आफ्नो काम गर्ने शैलीलाई प्रयोगात्मक मान्छन् । ‘मेरो काम गराई प्रयोगात्मक जस्तो छ । के गर्दा के हुँदो रहेछ भन्ने हिसाबले काम गर्छु । यो गर्दा यस्तो हुन्छ भन्ने फुर्मला पनि छैन । मार्गनिर्देश गर्ने ‘मेकानिज्म’ पनि भएन । मैले सिक्दै र गर्दै जाने हो,’ उनले भने । आगामी जेठ १० गतेबाट प्रदर्शनमा आउन लागेको ‘पूजार सार्की’मा उनले दमाईको चरित्र निभाएका छन् ।

‘प्रेमगीत’बाट रोमान्टिक हिरोको छवि बनाएका प्रदीप अब चरित्रमा विविधता खोज्ने प्रयासमा देखिन्छन् । अघिल्लो फिल्म ‘प्रकाश’मा उनले जुम्ली जीवन बाँचेका थिए । त्यहीँको भाषा र रैथाने लवज टिपेका थिए । ‘पूजार सार्की’मा भने उनले कास्कीकोट क्षेत्रमा बोलिने भाषा र लवजमा लय मिलाएका छन् । दुवै फिल्ममा भाषा टिप्न चुनौती भएको उनको अनुभव छ । ‘पूजार सार्की’को स्क्रिप्टमा बस्दा केही शब्दमा ‘प्रकाश’को ‘टोन’ आउँदा गाह्रो भएको उनले स्मरण गरे ।

‘हामीले ‘प्रकाश’मा कर्णालीको खस भाषालाई प्रयोग गरेका थियौं । त्यो मैले विर्सिसकेको थिएँ । ‘पूजार सार्की’को स्क्रिप्टमा बस्दा भने केही शब्दमा ‘प्रकाश’को ‘टोन’ आएको थियो । त्यसमा मलाई एकदमै गाह्रो भएको थियो,’ उनले अनुभव सुनाउँदै अगाडि भने, ‘सामान्य रुपमा नेपाली बोल्दा ठीक थियो । तर, कास्कीकोटतिरको भाषा टिप्न खोज्दा ‘प्रकाश’को आउँथ्यो । पछि प्रयास गर्दागर्दा यो पनि टिप्न सकियो । दुवै फिल्ममा चुनौती बराबार थियो ।’