मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दयाहाङ स्टारर ‘गाउँ आएको बाटो’को टिजर रिलिज

फिल्मीखबर, काठमाडौं, 2024/05/06

Dayahang Rai

 

‘नुमाफुङ’ निर्देशक नबीन सुब्बाको कमब्याक फिल्म ‘गाउँ आएको बाटो’को टिजर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक टिजरले ग्रामीण जीवनको कथा पेश गर्छ । गाउँमा बाटो पुग्नुअघि र बाटोसहित मोटर पुगेपछिको अवस्थालाई देखाउन खोजिएको छ । बाबु-छोराबीचको सम्बन्धको कथा पनि फिल्मले भन्ने टिजरले बुझाउँछ ।

निर्देशक सुब्बाले सन्तान हुर्काउन बाबुले गरेको संघर्षको कथामा फिल्म बनेको बताएका छन् । उनले भने- ‘सन्तान हुर्काउन बुबाले गरेको संघर्ष नै यो फिल्मको कथा हो । कति दुःख-कष्ट गरेर बुबाआमाले सन्तान हुर्काएका हुन्छन् भन्ने फिल्मले देखाउँछ ।’ उनले ‘गाउँ आएको बाटो’ले विभिन्न फेस्टिभल चहारेको भए पनि बुझ्न नसकिने फिल्म नरहेको दाबी गरे । फिल्ममा सामान्य तरिकाले कथा भनिएको उनको भनाई छ ।

‘यो फिल्म अत्यन्त सरल र साधारण छ । धेरैलाई फेस्टिभल भन्ने वितिक्कै बुझ्नै नसकिने फिल्म छ कि भनेर हाउगुजी लागिहाल्छ । तर, फिल्म त्यस्तो छैन,’ उनले अगाडि भने, ‘मेरो पहिलादेखिको ध्येय के हो भने देश र विदेशका दर्शकलाई नजोडिकन् नेपाली फिल्म माथि उठ्दैन । त्यसका लागि हामीले हाम्रो उद्योगको आफ्नै अनुहार बनाउनुपर्छ । घरेलु र बाहिर जाने फिल्मबीच हातेमालो हुनुपर्छ ।’ फिल्म क्षेत्रलाई अगाडि बढाउन यस्ता फिल्म चल्न आवश्यक रहेको उनी औंल्याउँछन् ।

त्यस्तै, फिल्मका मुख्य अभिनेता दयाहाङ राईले गाउँमा गाडी आएपछिको परिवर्तनको कथा फिल्मले देखाउने प्रस्ट्याए । उनले भने- ‘गाउँमा बाटो मात्रै आउँदैन, त्यससँगै धेरै कुरा आउँछ । त्यसले गाउँबाट धेरै कुरा लान्छ पनि होला । गाउँमा सडक आएपछिको परिवर्तन फिल्ममार्फत देखाउने प्रयास गरिएको छ ।’ उनी दर्शकलाई फिल्म मनपर्नेमा विश्वस्त देखिए ।

आगामी जेठ २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्ममा दयाहाङको छोराको भूमिकामा प्रसान राई र श्रीमतीको भूमिकामा पशुपति राई छिन् । उनीहरुका साथै खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा लगायतको पनि अभिनय छ । निर्देशक सुब्बा र महेश राईले फिल्मको पटकथा तयार पारेका हुन् । फिल्मको निर्मातामा अमोद राई र निर्देशक सुब्बा छन् भने भने कार्यकारी निर्माता सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई हुन् ।