मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘वसन्त’लाई प्रकाशले किन भने पहिलो फिल्म ?

फिल्मीखबर, काठमाडौं, 2024/05/06

गीतसंगीत क्षेत्रमा गायक प्रकाश सपूतले आफ्नो फराकिलो प्रकाश छरिसकेका छन् । उनका गीत जति चर्चित हुन्छन्, त्यत्तिकै प्रभावशाली हुन्छन् गीतमा उठाइएका मुद्धा पनि । उनका गीतमा समाजको यथार्थ चित्रण भेटिन्छ । यसैले त उनका जुन गीत आए पनि त्यसले एकखालको हलचल ल्याउने गरेका छन् । गीत लेखन र म्यूजिक भिडियोमा उनको कथावाचन शैली तिख्खर र निख्खर देखिन्छ ।

 

prakash saput

 

अब प्रकाश फिल्ममा कथा भन्ने तयारीमा छन् । उनको डेब्यु निर्देशनमा बन्न लागेको फिल्म ‘वसन्त’को आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच घोषणा गरियो । यसमा प्रकाशको निर्देशनसँगै लेखन, अभिनय, संगीत तथा निर्माण पनि रहनेछ । फिल्ममा उनले वर्ण व्यवस्था र जात व्यवस्थाले पिल्सिएको दलित समुदायको कथा उठान गर्दैछन् ।

अभिनयको हिसाबले ‘वसन्त’ प्रकाशको दोस्रो फिल्म हुनेछ । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘परदेशी २’बाट उनले डेब्यु गरेका थिए । यो फिल्म व्यावसायिक रुपमा सफल पनि भयो । तर, प्रकाशले ‘वसन्त’लाई आफ्नो पहिलो फिल्म भनेर घोषणा गरेका छन् । फिल्मको थिम पोस्टरमै लेखिएको छ, ‘प्रकाश सपूतको पहिलो चलचित्र ।’ उनले निर्देशन भनेर उल्लेख नगरेकाले यसले अभिनयको अर्थ बुझाउँछ । त्यो हुँदा ‘परदेशी २’लाई उनले स्वीकार नगरेको बुझिन्छ ।

फिल्मको घोषणा सभामा पनि यही प्रश्न उठेको थियो । निर्देशन भनेर उल्लेख गर्दा कलाकारिता नबुझाउने भएकाले पहिलो फिल्म भनिएको प्रकाशको तर्क थियो । तर, यसलाई सच्याउने उनले वाचा गरे । उनले भने, ‘निर्देशित हुनुपर्ने हो तर त्यसले कलाकारिता र निर्माणलाई सम्बोधन नगर्ने भयो । अरु निर्देशक/निर्माताले पनि आफ्नो फिल्म भनेर राख्नुहुन्छ । मैले पनि निर्देशक र मेकरको रुपमा पहिलो फिल्म भनेर राखेको हुँ ।’

 

basant movie


‘वसन्त’लाई आफ्नो पहिलो फिल्म भन्दा ‘परदेशी २’मा काम गरिसकेको इतिहास भेटिने हो कि भन्ने आफूलाई पनि महशुस भएको प्रकाशले बताए । ‘मैले पहिला फिल्ममा काम गरिसकेको छु, त्यो एउटा इतिहास मेटिने हो कि भन्ने लागेको थियो । सम्भवतः अब यसलाई सच्याउन सकिन्छ । निर्देशन र निर्माण गरेको पहिलो फिल्म भनेर सम्बोधन गर्ने एउटा राम्रो भाषा छान्नेछौं,’ उनले भने । आफ्नो जीवनको पहिलो फिल्म सम्झिँदा ‘परदेशी २’ नछुट्ने पनि उनको भनाई थियो ।