मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘भाइरल गोर्खे’मा ऋषि धमलाले लिए सौगातको अन्तर्वार्ता

फिल्मीखबर, काठमाडौं, 2024/05/06

rishi dhamala

 

पत्रकार ऋषि धमलाले सन् २०१६ मा आएको फिल्म ‘हाउ फन्नी’मा पहिलोपटक अभिनय गरेका थिए । एकपटक फेरि उनी फिल्ममा देखिँदैछन् । यतिबेला लमजुङको भुजुङ गाउँमा छायांकन भइरहेको फिल्म ‘भाइरल गोर्खे’मा उनले अभिनय गरेका छन् । सोमबार फिल्मका मुख्य अभिनेता सौगात मल्लसँग उनले अन्तर्वार्ता लिएको दृश्य छायांकन गरिएको छ । यसमा उनी पत्रकारकै भूमिकामा प्रस्तुत छन् ।

छायांकन सेटबाट प्राप्त एक तस्वीरमा धमला र सौगातले हात मिलाएको देखिन्छ भने पृष्ठभूमिमा ‘सरकार जान्न चाहन्छ ?’ भनेर लेखिएको निलो ब्यानर छ । फिल्ममा सौगात उटपट्याङ काम गरेर सामाजिक सञ्जालमा भाइरल भएको पात्रको भूमिकामा छन् । उनको अन्तर्वार्ता लिन गएको सन्दर्भको दृश्यमा धमला देखिनेछन् । उनको एक दिनको मात्र छायांकन थियो । फिल्ममा उनको भूमिका अर्थपूर्ण रहेको निर्देशक निगम श्रेष्ठले बताएका छन् ।

पत्रकार धमलाले फिल्म निर्माण समेत गरिसकेका छन् । उनकी श्रीमती तथा अभिनेत्री एलिजा गौतमको डेब्यु फिल्म ‘अनुराग’लाई उनले निर्माण गरेका थिए । तर, यो फिल्म असफल भएपछि उनी निर्माणमा सक्रिय देखिएका छैनन् । यद्यपि, उनले भविष्यमा फिल्म बनाउने योजना रहेको बताउने गरेका छन् ।

‘भाइरल गोर्खे’मा सौगात र धमलासहित सृष्टि श्रेष्ठ, लक्ष्मी गिरी, बुद्धि तामाङ लगायतको पनि अभिनय छ । ब्रेकअपपछि पहिलोपटक सौगात र सृष्टि फिल्ममा एकसाथ देखिन लागेका हुन् । विशाल ताम्राकार र महेश लामिछानेको निर्माण रहेको फिल्मले सामाजिक सञ्जालमा भाइरल हुन जस्तोसुकै हर्कत गर्ने पात्रको कथा भन्नेछ । अमर महर्जन फिल्मका छायाँकार हुन् ।