मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.00/5.00)
Text size:-
+
-

‘बोक्सीको घर’ले अभिनेत्रीप्रतिको रुढीवादी चिन्तनको जरामा आगो लगाइदियो : स्वस्तिमा

फिल्मीखबर, काठमाडौं, 2024/05/05

Swastima Khadka

 

अभिनेत्री केकी अधिकारीको निर्माण तथा अभिनय रहेको फिल्म ‘बोक्सीको घर’ले यतिबेला बक्स अफिसमा आफ्नो दबदबा कायम गरेको छ । ‘मनसरा’ जस्तो ठूलो स्टारकास्ट भएको फिल्म प्रदर्शनमा आउँदा पनि फिल्मले आफ्नो पकड गुमाएको छैन । पहिलो हप्ता ६ करोडमाथिको कमाई गरेको फिल्मले दोस्रो हप्ताको शुक्रबार र शनिबार पनि ठूलो अंक जोड्यो । फिल्मको ‘लाइफटाइम कलेक्सन’ १० करोड पुग्ने प्रक्षेपण गरिएको छ ।

मुख्य भूमिकामा अभिनेत्री मात्र भएको फिल्म चल्दैनन् भन्ने फिल्म क्षेत्रमा एकखालको भाष्य बनेको थियो । त्यसलाई ‘बोक्सीको घर’ले चिर्ने प्रयास गरेको छ । यो फिल्ममा केकी अधिकारी र बाल कलाकार सुपला सापकोटा केन्द्रीय भूमिकामा छन् । तर, फिल्मको व्यापार ठूलो स्टारकास्ट र सिक्वेल फिल्मभन्दा पनि बुलन्द देखिएको छ । यसले फिल्म क्षेत्रमा व्याप्त अभिनेत्रीप्रतिको रुढीवादी चिन्तनको जरामा आगो लगाइदिएको अभिनेत्री स्वस्तिमा खड्का टिप्पणी गर्छिन् ।

यो फिल्मले आफूलाई बेग्लै दृष्टि दिएको उल्लेख गर्दै उनले फेसबुकमा लेखेकी छन्, ‘३० वर्ष उमेर पार भएकी अभिनेत्रीलाई दर्शकले पर्दामा हेर्न चाहँदैनन्, महिलाप्रधान फिल्महरु व्यावसायिक रूपमा सफल हुँदै हुँदैनन्, अभिनेत्रीहरुलाई पुरुष कलाकारको साथ चाहिन्छ, विवाहित अभिनेत्रीहरु फिल्ममा रुचाइँदैनन् भन्ने रुढीवादी चिन्तनको जरामा ‘बोक्सीको घर’ले आगो लगाइदिएको छ ।’

फिल्मले अभिनेत्रीलाई लिएर व्याप्त कयौं गलत भाष्यलाई गलत सावित गरिदिएकोमा उनले खुसी व्यक्त गरेकी छन् । यो फिल्मको छलाङलाई आफू उत्सवझैं मनाउने उनको भनाई छ । ‘बोक्सीको घर’ले हरेक उमेर समूहलाई फरक-फरक आँखीझ्याल दिएको उनको तर्क छ । स्वस्तिमाको स्टाटसको कमेन्टमा केकीले उनीप्रति धन्यवाद व्यक्त गरेकी छन् ।