मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

प्रकाश सपूतले घोषणा गरे ‘वसन्त’, चैते दशैंमा रिलिज

फिल्मीखबर, काठमाडौं, 2024/05/05

गायक तथा संगीतकार प्रकाश सपूतले अब फिल्म निर्देशन गर्ने भएका छन् । उनको डेब्यु निर्देशनमा बन्न लागेको फिल्म ‘वसन्त’को आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच टिजर सार्वजनिक गर्दै निर्माण घोषणा गरियो । टिजरले फिल्मको कथासार बुझाएको छ । फिल्ममा प्रकाशको निर्देशनसँगै अभिनय, लेखन तथा संगीत पनि रहनेछ ।

 

prakash saput and swastima khadka


आगामी चैते दशैंलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्ममा प्रकाशको जोडी भएर अभिनेत्री स्वस्तिमा खड्का प्रस्तुत हुनेछिन् । यसअघि उनीहरुले दुई गीत (जाले रुमाल फाट्यो र कुरा बुझ्नु पर्छ)मा सहकार्य गरेका थिए । प्रकाशले आफ्नो चर्चित गीत ‘गलबन्दी’लाई प्रोडक्सन कम्पनीको रुपमा दर्ता गरेर फिल्मको निर्माण गर्न लागेका हुन् । यसमा प्रकाश घिमिरे, अनुप बराल र कमलमणि नेपालको पनि अभिनय रहनेछ ।

मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सि शेरचन कार्यकारी निर्माता रहेको फिल्मको मुख्य सहायक निर्देशकमा प्रकाशकै सहोदर भाई सुनिल वि.क. छन् । फिल्मको छायांकन आगामी भदौबाट सुरु हुने जनाइएको छ । यसअघि प्रकाशले सेभेन सीजको निर्माणमा बन्न लागेको फिल्म ‘पूर्णबहादुरको सारंगी’मा काम गर्नेछन् ।

‘वसन्त’को टिजरले फिल्मको कथावस्तुबारे महत्त्वपूर्ण प्रकाश पारेको छ । वर्ण व्यवस्था र जात व्यवस्थाले सदियौंदेखि पिल्सिएको एउटा तप्काको कथा फिल्म भन्ने टिजरले प्रष्ट पार्छ । प्रकाशको पात्र (वसन्त)लाई लेखनप्रति रुचि देखिन्छ, जो विश्वकर्मा परिवारका हुन् । स्वस्तिमा भने कथित माथिल्लो जातकी युवती (शान्ति)को भूमिकामा छिन् । प्रकाश र स्वस्तिमाबीचको प्रेमलाई पनि टिजरमा देखाइएको छ ।

प्रकाशले आफ्नो भोगाईको चित्रण ‘वसन्त’मा गरिएको जानकारी गराए । उनले भने- ‘मैले जस्तो जीवन भोगेँ, त्यसैको चित्रण फिल्ममा गरिएको छ । त्यसलाई अलिकति फिल्मांकन गरेका छौं । केही वास्तविक घटना-परिघटनालाई पनि बुनिएको छ । फिल्ममा त्यस्तो उतार-चढाव छैन । फूलफूल गाँसेर माला बनेजस्तै हाम्रा दुःख-सुःख गाँसेर ‘वसन्त’ बनेको छ ।’

स्वस्तिमाले महिलालाई पर्दामा बलियो तरिकाले प्रस्तुत गर्नुपर्छ भन्ने प्रकाशको सोच आफूलाई मनपर्ने धारणा व्यक्त गरिन् । ‘जुनसुकै विषय भए पनि महिलालाई सशक्त रुपमा प्रस्तुत गर्नुपर्छ भन्ने उहाँको सोच मलाई मनपर्छ । यसले गर्दा पनि यो फिल्ममा जोडिन पाएकोमा खुसी छु,’ उनले भनिन् । उनलाई ‘वसन्त’ रिलिजपछि पनि वर्षौंसम्म कुरा गरिने फिल्म बन्छ भन्ने विश्वास छ ।

 

तस्वीर : सुरेन्द्र थापा