मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘खजुरे ब्रो’मा मेरो ‘डाइनामिक’ चरित्र छ : महेश त्रिपाठी

फिल्मीखबर, काठमाडौं, 2024/05/05

आर्ट हाउस र कमर्शियल दुवै धारका फिल्ममा आफ्नो उपस्थिति जनाएका अभिनेता महेश त्रिपाठी व्यावसायिक सफलताबाट भने बञ्चित भइरहेका छन् । उनको अभिनयको अक्सर चर्चा भए पनि फिल्मको सफलता महशुस गर्न पाएका छैनन् । अब उनलाई फिल्म ‘खजुरे ब्रो’बाट ठूलो अपेक्षा देखिन्छ । यही बैशाख २८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा उनले धरानमा हुर्किएको पात्रको भूमिकामा अभिनय गरेका छन् ।

यसमा आफू निर्देशकको सोचअनुरुप खरो उत्रिएको छु भन्ने महेशलाई लाग्छ । ‘खजुरे ब्रो’लाई उनी ‘लार्जर देन लाइफ’भन्दा पनि ‘रअ’ पात्र र कथा खोज्नेहरुको फिल्म मान्छन् । फिल्मले दर्शकको अपेक्षा पूरा गर्छ भन्ने उनको विश्वास छ । ‘फिल्मले मनोरञ्जन दिन्छ भन्नेमा म ढुक्क छु । यसमा मेरो धरानमा हुर्केको एउटा ‘डाइनामिक’ चरित्र छ । निर्देशकको सोचमा म खरो उत्रने प्रयास गरेको छु । निर्देशकले कस्तो चाहनुभएको छ, त्यो चीज मैले दिने प्रयास गरेको छु,’ उनले भने ।

 

mahesh tripathi

 

उनलाई ‘खजुरे ब्रो’मा निभाएको पात्र आफूभन्दा भिन्न छ भन्ने लाग्छ । यसैले दर्शकलाई नयाँ स्वाद लाग्ने उनको विश्वास छ । कलाकारले गर्नुपर्ने धर्म ‘खजुरे ब्रो’मा आफूले निभाएको र दर्शकले निराश हुनु नपर्ने उनी बताउँछन् । फिल्ममा पूर्वी नेपालको पात्रमा ढल्न उनले विशेष तयारी समेत गर्नुपरेको थियो । त्यसका लागि उनले २/३ महिनाको समय लगाएका थिए । चरित्रको अध्ययन गरेर त्यसमा आफूलाई ढाल्न गाह्रो भएको उनको अनुभव छ ।

उनी भन्छन्, ‘बाह्य रुपमा हेर्दा शारिरिक हाउभाउ र बोल्ने भाषाको कुरा छ । त्यो सिक्ने नै हो । त्यसका लागि चरित्र अध्ययन गर्दै यसरी गर्ने भन्दै जोड्दै बनाउने हो । मनोवैज्ञानिक पक्षमा चाहिँ लेखक/निर्देशकले त्यो पात्रलाई कसरी देखेका छन् भन्ने कुरा हुन्छ । त्यसमा उनीहरुको दृष्टिकोण बुझेर काम गर्नुपर्छ । मैले यो फिल्मको पात्रमा आफूलाई ढाल्न बाह्य र मनोवैज्ञानिक दुवै रुपमा तयारी गरेको थिएँ ।’

महेश अब आफूलाई दर्शकको ठूलो जमातमा पुग्न आवश्यक देख्छन् । त्यसका लागि फिल्मको व्यावसायिक सफलता जरुरी छ भन्ने उनलाई लाग्छ । उनी भन्छन्, ‘करिअरका हिसाबले ‘मास अडियन्स’मा जानु छ र अलिकति व्यावसायिक सफलता प्राप्त गर्न मन छ, त्यो मलाई आवश्यक छ ।’ यद्यपि, उनी आफ्नो कामबाट भने सन्तुष्ट छन् । उनलाई फिल्मको पनि कमी छैन । अहिले उनीसँग ४/५ वटा फिल्म पाइपलाइनमा छन् ।

‘खजुरे ब्रो’लाई सुरज सुनुवारले निर्देशन गरेका हुन् । कुनै बेला धरानमा चर्चित मानिएका खजुरे पात्रबाट प्रभावित भएर फिल्म बनेको हो । यो पात्रको भूमिकामा रेअर राई छन् । नीति शाह र नविन मानन्धरको पनि फिल्ममा मुख्य भूमिका छ । नीतिले यही फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यु गरेकी हुन् । प्रेम, पैसा र सहकारी ठगीको वरिपरि फिल्मको कथा घुमेको छ ।