मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पूजार सार्की’मा आर्यन, प्रदीप र पलको सहकार्य कसरी जुर्‍यो ?

फिल्मीखबर, काठमाडौं, 2024/05/05

aaryan sigdel, pradeep khadka and paul shah

 

एक समय समकालीन कलाकारहरुबीच फिल्ममा सहकार्यको ‘ट्रेन्ड’ थियो । शिव श्रेष्ठ, राजेश हमाल र भुवन केसी हुन् या निखिल उप्रेती र विराज भट्ट नै किन नहुन्, उनीहरुले एकसाथ फिल्ममा काम गरेका छन् । तर, अहिलेका ‘स्टार’ कलाकारहरु मिलेर काम गर्दैनन् भन्ने भाष्य बनिरहेको छ । यसलाई केही हदसम्म निर्देशक दिनेश राउतले फिल्म ‘पूजार सार्की’बाट चिर्ने प्रयत्न गरेका छन् ।

यो फिल्ममा नयाँ पुस्ताका तीन ‘स्टार’हरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह मुख्य भूमिकामा छन् । उनीहरु एउटै फिल्ममा सहकार्य गर्न कसरी तयार भए भन्ने जिज्ञासा धेरैमा देखिन्छ । निर्देशक राउतले पनि पहिला स्थापित कलाकारहरु मिल्दैनन् र मिलेर काम गर्दैनन् भन्ने नै सुनेका रहेछन् । तर, आफ्नो टिम र कथाप्रतिको विश्वासले उनीहरुको सहकार्य जुरेको हो भन्ने उनलाई लाग्छ ।

दिनेश भन्छन्, ‘स्थापित कलाकारहरु एकआपसमा मिल्दैनन्, एउटै फिल्ममा काम गर्न रुचाउँदैनन् भन्ने मैले पनि धेरै सुनेको थिएँ । तर, मेरो अनुभवमा तीनैजनालाई स्क्रिप्ट सुनाउँदा उहाँहरुलाई फिल्मको टिम र कथाप्रति विश्वास रह्यो र त्यही कारणले नै सहकार्य जुट्यो जस्तो लाग्छ ।’ फिल्मको कथालाई दर्शकको ठूलो जमातमा पुर्‍याउन पनि तीन ‘स्टार’लाई लिइएको उनको स्वीकारोक्ति छ ।

मल्टीस्टारर फिल्ममा ‘स्टार’ कलाकारहरु आफ्नो भूमिका र ‘लेन्थ’ हेरेर मात्र काम गर्न राजी हुन्छन् । कलाकारले आफ्नो भूमिका र पात्रले कथालाई कुन तहसम्म बोक्छ भन्ने कुराको चासो राख्नु स्वभाविक हो भन्ने लाग्छ निर्देशक राउतलाई । ‘पूजार सार्की’मा भने तीनवटै पात्रले एउटै मुद्धामा संघर्ष गर्ने भएकाले आर्यन, प्रदीप र पललाई आफ्नो रोल बराबर लागेको हुनसक्ने उनको बुझाई छ ।

 

dinesh raut


२०४६ सालको जनआन्दोलनको पेरिफेरिमा रहेर जातीय विभेदविरुद्धको कथामा आधारित भएर बनेको फिल्ममा विकास सुवेदीको लेखन छ । फिल्ममा आर्यन पूजारीको भूमिकामा छन् भने प्रदीप दमाहा बजाउने दमाई चरित्रमा छन् । पलको चरित्र विद्रोही छ । आगामी जेठ १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको यो फिल्मले घरेलु बजारमा राम्रो व्यापार गर्ने आँकलन गरिएको छ ।