मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 4.33/5.00)
Text size:-
+
-

दर्शक बढाउँदै ‘मनसरा’, शनिबारको व्यापार बलियो

फिल्मीखबर, काठमाडौं, 2024/05/04

mansara

 

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’ले शुक्रबार पूर्वमा उत्कृष्ट व्यापार गर्‍यो । धरान, विराटनगर, इटहरी, दमक र विर्तामोड क्षेत्रका हलमा दर्शकको चाप उच्च थियो । तर, पूर्वबाहेकका सहरहरुमा फिल्मको व्यापार अपेक्षाकृत रहेन । शनिबार भने देशभर फिल्मको व्यापार बलियो देखिएको छ । काठमाडौंमा पनि शनिबार फिल्मप्रति दर्शकको क्रेज उत्साहजनक देखियो ।

देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले उपलब्ध गराएको शोजमा फिल्मले बिहान ४० प्रतिशत, दिउँसो ७० प्रतिशत र साँझ ९० देखि शतप्रतिशत अकुपेन्सी कायम गरेको छ । दिउँसो र साँझका केही शोज हाउसफुल भए । काठमाडौंका अन्य मल्टीप्लेक्समा पनि शनिबार फिल्म हेर्ने दर्शक पर्याप्त देखिए । पूर्वमा भने फिल्मको व्यापार शुक्रबारभन्दा पनि आक्रामक रहेको जनाइएको छ ।

शनिबार चितवन, पोखरा, नेपालगञ्ज, बुटवल, दमौली जस्ता सहरमा पनि ‘मनसरा’ले राम्रो अकुपेन्सी कायम गरेको छ । दुई दिनमा फिल्मको व्यापार डेढ करोड हाराहारी पुग्ने देखिन्छ । अब यसको व्यावसायिक भविष्य भने आइतबारदेखिको ‘वर्ड अफ माउथ’मा निर्भर रहनेछ । यद्यपि, फिल्मले दर्शकबाट अब्बल प्रतिक्रिया प्राप्त गरेकाले व्यापार क्रमशः बढ्ने अपेक्षा निर्माण टिमले गरेको छ ।

बिहीबार विराटनगरमा प्रिमियरपछि फिल्मका प्रमुख कलाकारहरु दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा लगायतले शुक्रबार पूर्वका विभिन्न हलहरुमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए । शनिबार भने उनीहरुले काठमाडौंका हाउसफुल हलहरु चहार्दै दर्शकलाई धन्यवाद व्यक्त गरे । फिल्मप्रति दर्शकको बढ्दो आकर्षणले कलाकारहरुको मुहारमा खुसीको भाव झल्किएको थियो ।

‘मनसरा’ले काँठ क्षेत्रमा बसोबास गर्ने गरिखाने वर्गको संघर्ष र फरक जातीय पृष्ठभूमिका दुई छिमेकीबीचको सम्बन्धको आयामलाई कथाको मियो बनाएको छ । मिरुना मगर, प्रवीण खतिवडा र मेनुका प्रधानमा फिल्मको मूल कथा केन्द्रित छ । तर, सबै पात्रमाथि प्रवीण हावी देखिएका छन् । उनले हाँसो र रोदन दुवै भावमा गरेको अभिनय सशक्त छ । उनी यो फिल्मका बलियो मेरुदण्ड हुन् ।