मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.75/5.00)
Text size:-
+
-

फिल्म बनाउँदै प्रकाश सपूत, स्वस्तिमासँग जोडी बाँध्दै

फिल्मीखबर, काठमाडौं, 2024/05/02

prakash saput and swastima khadka

 

गीतमा ‘हिट मेशिन’ मानिएका गायक तथा अभिनेता प्रकाश सपूत अब फिल्म अभिनयलाई निरन्तरता दिने योजनामा देखिएका छन् । अघिल्लो वर्ष उनी अभिनीत फिल्म ‘परदेशी २’ सुपरहिट भएको थियो । यो उनको डेब्यु फिल्म थियो । अब यस वर्ष उनी दुईवटा फिल्ममा काम गर्ने तयारीमा छन् । एउटा (पूर्ण बहादुरको सारङ्गी)मा कलाकारको रुपमा र अर्कोमा निर्माण, निर्देशन र अभिनय तीनवटै जिम्मेवारी वहन गर्दैछन् ।

प्रकाशले निर्देशनमा डेब्यु गर्न लागेको फिल्मको सम्भवतः यही शुक्रबार ‘घोषणा टिजर’ सार्वजनिक गर्ने तयारी छ । त्यही टिजर भिडियोबाट फिल्मको नामदेखि कलाकारको ‘लाइनअप’ सार्वजनिक गरिँदैछ । यसबीच, फिल्मीखबरलाई मुख्य कलाकारको बारेमा महत्त्वपूर्ण जानकारी प्राप्त भएको छ । फिल्ममा प्रकाशको जोडी भएर अभिनेत्री स्वस्तिमा खड्का देखिन लागेको निकट स्रोतको दाबी छ । उनीहरु दुवै टिजरमा समेत देखिनेछन् ।

प्रकाश र स्वस्तिमाबीच यसअघि म्यूजिक भिडियोमा सहकार्य भएको थियो । ‘जाले रुमाल फाट्यो’ र ‘कुरा बुझ्नु पर्छ’ गरी दुई गीतमा स्वस्तिमाले प्रकाशको निर्देशनमा काम गरेकी थिइन् । दुवैमा उनीहरुको जोडी बाँधिएको थियो । अब पहिलोपटक फिल्ममा उनीहरु एकसाथ देखिने तयारीमा छन् । फिल्ममा थिएटरका केही कलाकारहरुलाई पनि लिइएको छ । फिल्मको कथा प्रकाश स्वयंले लेखेका हुन् ।

प्रकाशले आफ्नो फिल्मको छायांकन आगामी दशैंपछि गर्ने जानकारी प्राप्त छ । त्योभन्दा अगाडि उनले फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा काम गर्नेछन् । अघिल्लो साता उनी यो फिल्ममा अनुबन्ध भएका थिए । गीत लेखन र म्यूजिक भिडियोमा उनको कथावाचन शैली सशक्त देखिने गरेको छ । यसैले उनको पहिलो निर्देशकीय फिल्म कस्तो रहन्छ भन्ने चासो धेरैमा देखिएको छ ।