मिति : २०८१ ज्येष्ठ ८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

दयाहाङको व्यवहार : कसैलाई काखा, कसैलाई पाखा

फिल्मीखबर, काठमाडौं, 2024/04/30

निःसन्देह, दयाहाङ राई वर्तमान समयका नेपाली फिल्मका ठूला स्टार हुन् । कुनै बेला अभिनेता राजेश हमालको टाउको पोस्टरमा राखेकै भरमा फिल्म बिक्थ्यो भनेझैँ अहिले केही हदसम्म दयाहाङको हकको त्यो देखिन्छ । अघिल्लो वर्ष उनका फिल्मले पाएको सफलताले पनि त्यसलाई पुष्टि गर्छ । यद्यपि, उनका फिल्म ‘कन्टेन्ट’को बलमा चलेका हुन् भन्ने अर्को पक्षलाई पनि नकार्न मिल्दैन ।

लगातारको सफलताले दयाहाङ अहिलेका सर्वाधिक ‘विकाउ अभिनेता’ बनेका छन् । यसैले हरकोही उनकै पछाडि दौडिएका छन् । उनले पनि गन्न नभ्याउने गरी फिल्म सम्झौता गरिरहेका छन् । अहिले उनको हातमा दुई दर्जन आसपास फिल्म छन् । ती कहिले बनेर सकिन्छन्, उनलाई नै थाहा छैन । काममा उनको उस्तै धपेडी छ । एउटाको छायांकन सकिएलगत्तै अर्कोमा जोडिहाल्नुपर्छ ।

 

Dayahang Rai


धेरै फिल्ममा काम गर्दा रिलिज पनि धेरै हुने भइहाल्यो । गत वर्ष मात्र दयाहाङका ९ वटा फिल्म प्रदर्शन भए । दुईपटक त उनका आफ्नै फिल्मबीच भिडन्त भयो । छायांकनको चापले उनी प्रचारमा पनि कमै हिँड्छन् । तर, फिल्मको प्रचारमा उनको विभेदकारी व्यवहार देखिन्छ । कुनै फिल्मको विदेश प्रदर्शनमा पनि पुग्न भ्याउने उनी कुनै फिल्मलाई एकदिन पनि समय निकाल्न भ्याउँदैनन् ।

गत फागुनमा रिलिज भएको ‘रंगेली’लाई उनले प्रिमियरका लागि केही घण्टाको समय दिएका थिए । त्यसअघि आएका ‘दयारानी’ र ‘हात्तीछाप’को बारेमा उनले आधा/एक घण्टा मिडियामा बोलिदिए । ‘दिमाग खराब’को प्रचारमा त उनको नाकमुखै देखिएन । तर, गत चैत ३० मा प्रदर्शन भएको ‘डिग्री माइला’लाई भने उनले पर्याप्त समय दिए । फिल्मको प्रचारमा उनी राम्रैसित खटेको देखियो ।

यतिबेला उनी ‘डिग्री माइला’को प्रदर्शनका लागि हङकङमा छन् । अरु फिल्म रिलिज हुँदा नेपालमै प्रचारमा हिँड्न नभ्याउने उनी आफ्नो समूहको फिल्मको भने विदेश प्रदर्शनमा समेत पुगिरहेका छन् । यो फिल्मका लागि उनले ‘कार्साङ’को छायांकन समेत थमथमाएर राखेको चर्चा छ । यही शुक्रबारबाट प्रदर्शन हुन लागेको ‘मनसरा’को प्रचारमा पनि दयाहाङले राम्रो साथ दिएका थिए ।

फिल्ममा काम गरेपछि प्रचारमा सघाउनु कलाकारको धर्म हो । फिल्ममा ठूलो लगानी गरिएको हुन्छ । कलाकारले केही बोलिदिँदा दर्शकको ठूलो जमातमा फिल्मको जानकारी पुग्छ । त्यसको प्रभाव व्यापारमा देखिन सक्छ । तर, दयाहाङले फिल्मको प्रचारमा आफ्नो समूहलाई काखा र अरुलाई पाखाको व्यवहार गरेको देखिन्छ । कि उनलाई रामबाबु गुरुङ र उपेन्द्र सुब्बा मात्र प्रिय हुन् ?