मिति : २०८१ ज्येष्ठ ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विराज भट्टको ‘१२ गाउँ’बाट डेब्यु गर्दै सनिशा

फिल्मीखबर, काठमाडौं, 2024/04/29

Biraj Bhatta and Sanisha Bhattarai

 

पछिल्लो समय म्यूजिक भिडियो हुँदै फिल्ममा भित्रिने कलाकारको संख्या बढिरहेको छ । यसैक्रममा, मोडल सनिशा भट्टराई पनि अब फिल्मकी हिरोइन बन्ने भएकी छन् । अभिनेता विराज भट्टको निर्देशनमा बन्न लागेको आगामी फिल्म ‘१२ गाउँ’बाट उनले डेब्यु गर्न लागेकी हुन् । विराजले सोमबार फेसबुकमा एक पोस्टमार्फत् फिल्ममा उनको अभिनय रहने पृष्टि गरेका हुन् । फिल्ममा उनको प्रमुख भूमिका रहने विराजले जनाएका छन् ।

छोटो समयमै म्यूजिक भिडियोमा स्थापित सनिशाले ‘ए होर माया’, ‘आँशु बनि नखस कैले नि’, ‘तिमीलाई हेर्ने बानी पर्‍यो’, ‘साइँली’, ‘लुम्बिनी कर्णाली’ जस्ता दुई दर्जन बढी गीतमा काम गरिसकेकी छन् । म्यूजिक भिडियोमा अभिनेता पल शाहसँग उनको जोडी बढी रुचाइएको छ । अब ‘१२ गाउँ’बाट उनी फिल्ममा आफ्नो करिअर सुरु गर्दैछिन् । त्यसो त यसअघि पनि उनलाई केही फिल्मबाट प्रस्ताव पुगेको थियो ।

यसै वर्ष छायांकनको तयारी गरिएको ‘१२ गाउँ’मा विराज स्वयं मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् भने उनका छोरा समीर भट्टको पनि अभिनय रहनेछ । यो फिल्मबाट सनिशासँगै पूर्वमिस नेपाल इन्टरनेसनल (२०२२) न्यान्सी खड्काले पनि डेब्यु गर्दैछिन् । भिलेनको भूमिकामा कनिज कोइरालाको अभिनय रहनेछ । फिल्ममा सन्तोष सरकारको कथा तथा पटकथा छ ।

विराजले फिल्मलाई ठूलो ‘स्केल’मा निर्माण गर्दैछन् । एक्सन प्रधान रहने फिल्मका लागि उनले साउथ फिल्मबाट द्वन्द्व निर्देशक लिएका छन् । कयैन् तमिल फिल्ममा द्वन्द्व निर्देशक भएर काम गरेका स्टन्ट सिल्भाको फिल्ममा द्वन्द्व निर्देशनसँगै मुख्य खलपात्रको भूमिका पनि रहने जनाइएको छ । सिल्भा केही समयअघि काठमाडौं आएका थिए । फिल्मलाई विराज स्वयंले निर्माण गर्नेछन् ।