मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रहेनन् ‘माइतीघर’का अभिनेता सीपी लोहनी

फिल्मीखबर, काठमाडौं, 2024/04/29

चलचित्र माइतीघरका अभिनेता सीपी लोहनीको निधन

 

निजी क्षेत्रको लगानीमा निर्माण बनेको पहिलो नेपाली फिल्म ‘माइतीघर’का अभिनेता सीपी लोहनीको निधन भएको छ । उनको ८६ वर्षको उमेरमा काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो हस्पिटलमा उपचारको क्रममा सोमबार दिउँसो साढे १ बजे निधन भएको हो । उनी लामो समयदेखि पार्किन्सन तथा अलजाइमरको समस्याबाट ग्रसित थिए । निमोनियाको संक्रमण देखिएपछि उनलाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो ।

उनको पशुपति आर्यघाटमा सोमबार नै अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिअघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । उनीप्रति फिल्मकर्मीहरुले श्रद्धाञ्जली अर्पण गरेका थिए । सामाजिक सञ्जालमा पनि धेरैले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

सीपी लोहनीको वास्तविक नाम भने चिदम्बर प्रसाद हो । उनी अभिनेतासँगै गायक पनि हुन् । उनी स्वर्गीय गायक तथा संगीतकार नातिकाजीका समकालीन हुन् । उनको स्वरमा ‘आँखामा तिम्रो’, ‘काला कुर्तैले’, ‘उँभोमा झर्ने’, ‘एउटा तारा झर्दा’ जस्ता एक दर्जन हाराहारी गीत छन् । झ्याउरे गीतबारे विशेष दख्खल राख्ने उनको पछिल्लो एल्बम ‘पुनरागमन’ थियो । लोहनी काठमाडौंको डिल्लीबजारमा बस्दै आएका थिए ।

सन् १९६६ मा रिलिज भएको ‘माइतीघर’मा काम गर्ने क्रममा लोहनीको चर्चित बलिउड अभिनेत्री माला सिन्हासँग प्रेम बसेको थियो । र, पछि उनीहरुले विवाह गरेका थिए । उनीहरुका एक छोरी प्रतिभा सिन्हा छिन् । लोहनीले ‘माइतीघर’पछि भने अरु फिल्ममा काम गरेनन् । यसमा उनको पार्श्व गायन समेत थियो ।