मिति : २०८१ ज्येष्ठ २, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

इरफान खान : कलाकार होइन, क्रिकेटर बन्न चाहन्थे

एजेन्सी, मुम्बई, 2024/04/29

बलिउडमा गर्विलो नाम बनाएका स्वर्गीय अभिनेता इरफान खानले हलिउडसम्म आफ्नो अभिनयको जादू छरे । उनको अभिनयबाट हरेक वर्गका दर्शक प्रभावित बनेका थिए/छन् । राजस्थानको जयपुरमा जन्मिएका उनको चार वर्ष अगाडि (२०२० अप्रिल २९) न्यूरोएन्डोक्राइन ट्यूमरका कारण निधन भएको थियो । उनको निधनले बलिउडलाई ठूलो क्षति पुगेको छ । उनी जत्तिको उम्दा कलाकार बलिउडले पाउन नसक्ने चर्चा हुने गर्छ ।

खासमा इरफान कलाकार नभइ क्रिकेटर बन्न चाहन्थे । उनी सीके नायडू टूर्नामेन्टमा छनोट समेत भएका थिए । त्यसका लागि उनी एक क्याम्पमा जानुपर्ने थियो । तर, पैसाको अभावले उनी त्यो प्रतिस्पर्धामा सहभागी हुन सकेनन् । त्यसपछि उनले क्रिकेट नै छाड्ने निर्णय लिएका थिए ।

कलाकार बन्ने सपना देख्नु पनि उनका लागि जीवनको ठूलो जोखिम थियो । न फिल्मसँग सम्बन्धित पारिवारिक पृष्ठभूमि न आर्थिक रुपमा सबल, तर पनि उनले कलाकार बन्ने सपना देखे । उनले एकपटक भनेका थिए, ‘मैले केही फिल्म हेरेपछि कलाकार बन्ने सपना देखेको थिएँ । यो मेरो जीवनको सबैभन्दा ठूलो जोखिम थियो । म जुन परिवारबाट आएँ, त्यहाँ कोही क्रियटिभ ब्याकग्राउन्डका थिएनन् । जब एनएसडीमा भर्ना भएँ, त्यसबेला पिताको निधन भयो । त्यसपछि घरबाट पैसा मिल्न छाड्यो । मैले फेलोसिपको माध्यमबाट कोर्स पूरा गरेँ ।’

 

Irrfan Khan, Bollywood icon, dies at 53 | CNN


कलाकार बन्ने सपना बोकेर मुम्बई आएपछि उनले ठूलो संघर्ष गर्नुपरेको थियो । मुम्बईमा रोजीरोटीका लागि उनले इलेक्ट्रिसियनको काम गरे । एकपटक उनी सुपरस्टार राजेश खन्नाको घरमा एसी बनाउन गएका थिए, त्यसबेला पहिलोपटक उनले राजेश खन्नालाई देखेका थिए । त्यो भेटले उनलाई कलाकार बन्ने भोक झनै जगायो । उनको अभिनय करिअरको सुरुवात भने दूरदर्शनको सिरियल ‘श्रीकान्त’ (१९८५)बाट भएको थियो । यसपछि उनले ‘भारत एक खोज’, ‘चाणक्य’, ‘चंद्रकान्ता’, ‘सारा जहाँ हमारा’, ‘बनेगी अपनी बात’ र ‘जय हनुमान’ जस्ता सिरियलमा काम गरे ।

टेलिभिजनमा करिअर बनाएपछि उनले फिल्म ‘सलाम बम्बे’मा केमियो रोल पाएका थिए, तर पछि उनको सिन काटिएको थियो । त्यसबेला आफू धेरै रोएको इरफानले अन्तर्वार्तामा बताएका थिए । सन् १९९० मा आएको फिल्म ‘एक डक्टर की मौत’बाट उनको बलिउडमा डेब्यु भयो । यसमा उनले निडर पत्रकारको भूमिका निभाएका थिए । सन् २००६ मा आएको फिल्म ‘द नेमसेक’मा भने उनले मुख्य भूमिका निर्वाह गर्ने मौका पाए । त्यसपछि उनको करिअरले रफ्तार समातेको थियो ।

इरफानले ३२ वर्ष लामो करिअरमा गरेका केही फिल्म बलिउडकै लागि माइलस्टोन मानिन्छन् । निर्देशक तिग्मांशु धूलियाको फिल्म ‘हासिल’बाट उनले उत्कृष्ट भिलेनको फिल्मफेयर अवार्ड जितेका थिए । ‘मकबूल’, ‘लाइफ अफ पाई’, ‘लञ्चबक्स’, ‘हैदर’, ‘पीकू’, ‘हिन्दी मीडियम’ जस्ता उनका यादगार फिल्ममा पर्छन् । फिल्म ‘पान सिंह तोमर’बाट राष्ट्रिय अवार्ड समेत जितेका उनलाई सन् २०११ मा भारत सरकारले पद्मश्रीबाट सम्मानित गरेको थियो । अहिले उनका छोरा बाबिल खानले बलिउडमा राम्रो उपस्थिति जनाएका छन् ।