मिति : २०८१ वैशाख ३१, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘खजुरे ब्रो’ ट्रेलर : नीति र पैसाको पछि रेअर

फिल्मीखबर, काठमाडौं, 2024/04/28

यही बैशाख २८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘खजुरे ब्रो’को कमेडीयुक्त ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेट २० सेकेण्ड लम्बाईको ट्रेलरले खजुरे पात्र (रेअर राई)लाई पछ्याएको छ । मनमौजी जीवन बाँचिरहेको उसको प्रेम जीवन र पैसाले गर्दा उत्पन्न परिस्थितिलाई ट्रेलरले देखाउँछ । खजुरे पात्रको जीवनशैली रोचक देखिन्छ । ऊ कहिले साबुन खान्छ त कहिले १७ प्लेट मःम । यो धरानको एक चर्चित व्यक्तिबाट प्रभावित पात्र हो ।

 

Khajure Bro


अभिनेत्री नीति शाह खजुरेको प्रेमिकाको भूमिकामा छिन् । ट्रेलरमा उनको ‘स्क्रिन स्पेश’ कम छ । संवाद पनि एउटा मात्र छ । अभिनेता महेश त्रिपाठी भने खजुरेको साथीको भूमिकामा छन् । उनको पात्र सरकारी जागिरे र लेखक भए पनि लागूऔषध दुर्व्यसनीमा फसेको छ । त्यो पात्रमा पैसाको मोह पनि देखिन्छ । ट्रेलरमा सहकारीको ठगी विषय पनि समेटिएको छ । सहकारी सञ्चालकको भूमिकामा नवीन मानन्धर छन्, जसले सहकारीको पैसा अपचलन गर्छन् । र, उनीविरुद्ध नाराबाजी हुन्छ ।

ट्रेलरमा कम ‘स्क्रिन स्पेश’ पाएकी नीति त्यसमा आफ्नो चित्त दुखाई भने नभएको बताउँछिन् । पत्रकारको प्रश्नमा उनले भनिन्, ‘ट्रेलरमा कम देखिएँ भन्नेमा मेरो चित्त दुखाई छैन । यो मेरो पहिलो फिल्म भएकाले एकदमै खुसी छु । फिल्मको नामै ‘खजुरे ब्रो’ भएकाले स्वभाविक रुपमा त्यो पात्रको भूमिका बढी छ । मेरो भूमिका चाहिँ स्क्रिप्टले जति खोजेको छ, त्यति छ । र, चरित्रलाई न्याय गर्ने प्रयास गरेको छु भन्ने आशा छ । ट्रेलरमा कम देखिएँ भन्ने कुराले चाहिँ मलाई फरक पारेको छैन ।’

निर्देशक सुरज सुनुवार भने नीतिलाई फिल्मको ‘सरप्राइज प्याकेज’ मान्छन् । दर्शकलाई कौतुहलता होस् भनेरै नीतिको पार्टलाई ‘सस्पेन्स’ राखिएको उनको भनाई छ । ‘नीतिको भूमिका कस्तो रहेछ भनेर दर्शकलाई कौतुहलता होस् भन्ने नै हामीले चाहेका हौं । नीतिलाई ‘सरप्राइज प्याकेज’को रुपमा राखेका छौं । फिल्म आएपछि नीतिको क्यारेक्टर के हो, कस्तो काम गरेको छ र कति ‘स्क्रिन स्पेश’ छ भन्ने कुरा थाहा भइहाल्छ,’ उनले भने ।

फिल्ममा विनिता थापा मगर, पुस्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई लगायतको पनि अभिनय छ । नविन मानन्धर तथा निर्देशक सुनुवार निर्माता रहेको फिल्मको सह-निर्मातामा सुनील श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर छन् । डायमण्ड उप्रेती कार्यकारी निर्माता हुन् । फिल्ममा शिशिर विशंखेको छायाङ्कन तथा मित्र डि गुरुङको सम्पादन छ । अनमोल गुरुङको संगीत रहेको फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ ।