मिति : २०८१ वैशाख ३१, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कविता कन्सर्टपछि क्रिकेट मैदानमा ‘मनसरा’

फिल्मीखबर, काठमाडौं, 2024/04/28

Mansara-Gulsan

 

क्रिकेटमा नेपाली खेलाडीको प्रदर्शन मात्र सुध्रिएको छैन, समर्थक पनि बढेका छन् । शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको खेल हेर्न हजारौंको उपस्थिति देखिएको थियो । क्रिकेटप्रति बढ्दो क्रेजलाई मध्यनजर गर्दै नेपाली फिल्मले समेत खेल मैदानलाई प्रचारको रुपमा प्रयोग गरिरहेको छ । क्रिकेट मैदानमा फिल्मको होडिङ बोर्ड राख्नेदेखि खेलको क्रममा राम्रो प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कार प्रदान गर्ने ट्रेन्ड फस्टाएको छ ।

यही बैशाख २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मनसरा’ले पनि शनिबारदेखि जारी दोस्रो टी-२० खेललाई प्रचारको थलो बनाएको छ । क्रिकेट मैदानमा फिल्मको होडिङ बोर्ड राखिएको छ भने टेलिभिजन लाइभमा १० सेकेण्डको ट्रेलर पनि देखाइन्छ । र, प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीलाई पुरस्कार पनि राखिएको छ । शनिबारको खेल जिताउन महत्त्वपूर्ण भूमिका खेलेका गुल्सन झालाई निर्माता शैलेन्द्र ध्वज कार्कीले १० हजारको ‘सट अफ द डे’ प्रदान गरेका थिए ।

क्रिकेट हेर्न पुगेका समर्थकलाई निर्माण टिमले फिल्मको पोस्टर अंकित टिसर्ट पनि बाँडिरहेको छ । यसले फिल्मको राम्रो प्रचारमा भइरहेको निर्माता कार्की बताउँछन् । उनी भन्छन्, ‘नेपाली क्रिकेट खेलाडीको प्रोत्साहन पनि होस् र फिल्मको प्रचारमा पनि मद्दत पुगोस् भन्ने हेतुले हामीले टी-२० खेलमा सहकार्य गरेका हौं । क्रिकेट हेर्न पुगेका समर्थकले फिल्मप्रति देखाएको चासोले हामी उत्साहित छौं ।’

क्रिकेट मैदानमा उपस्थिति जनाउनुअघि ‘मनसरा’ टिमले पूर्वका विभिन्न सहरमा कविता कन्सर्ट राखेको थियो । त्यसलाई शनिबार इटहरी पुगेर बिट मारिएको छ । कन्सर्टमा फिल्मका निर्देशक तथा कवि उपेन्द्र सुब्बाले आफ्ना कविता सुनाएका थिए । पहिलोपटक नेपाली फिल्मको यो शैलीमा प्रचार गरिएको हो । ट्रेलर हेर्दा फिल्मले पनि कविता शैलीमा कथावाचन गरेको देखिन्छ ।

फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राई, विप्लव प्रतीक लगायतको अभिनय रहेको छ । फिल्मका छायांकार शैलेन्द्र ध्वज कार्की हुन् भने सह-निर्मातामा विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ छन् । फिल्मले अन्तरजातीय सम्बन्धको कथा उठाएको छ ।