मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दीलिपकी छोरी दिव्या भन्छिन्, ‘जन्मभूमिमा कर्म गर्न फर्किएँ’

फिल्मीखबर, काठमाडौं, 2024/04/23

नेपाली फिल्ममा ‘स्टार किड्स’को प्रवेश बढ्दो छ । अनमोल केसीदेखि सुहाना थापासम्मले माता-पिताको ‘पदचाप’ पछ्याइसकेका छन् । अब सुपरस्टार दीलिप रायमाझीकी छोरी दिव्या पनि फिल्ममा डेब्युको तयारीमा छिन् । उनले फिल्म ‘एक्टर’बाट अभिनय करिअर सुरु गर्न लागेकी हुन् । फिल्ममा उनको जोडी ‘युवा स्टार’ प्रदीप खड्कासँग बाँधिनेछ । उनी प्रदीपको ‘फ्यान’ समेत हुन् ।

 

pradeep khadka and divya rayamajhi (2)


दिव्याको जन्म नेपालमा भए पनि हुकाई/पढाई अमेरिकामा भयो । पिताका कारण बाल्यकालदेखि नै उनलाई फिल्मप्रति आकर्षण थियो । र, विस्तारै रुचि पनि बढ्यो । ‘एक्टर’भन्दा अगाडि पनि उनलाई धेरै फिल्मबाट प्रस्ताव पुगिसकेको थियो । तर, अध्ययनका कारण उनले काम गर्न सकिनन् । अमेरिकामै ब्याचलरमा अभिनय कोर्स गरेकी दिव्याले नृत्य र हर्स राइडिङ समेत सिकेकी छन् ।

मंगलबार ‘एक्टर’को शुभमुहूर्तमा अभिनयप्रतिको रुचिबारे उनले भनिन्, ‘पहिलादेखि नै फिल्ममा आउँछु भन्ने सोच बनाएको थिएँ । त्यसका लागि अभिनयदेखि नृत्यसम्म सबै राम्रो हुनुपर्छ भनेर सिकिरहेको थिएँ । बच्चैदेखि मलाई अभिनयमा सौख थियो । अवार्ड जितेको जस्तो गरेर ऐनाको अगाडि हात हल्लाउँदै धेरैपटक अभिनय गरेको छु । अब यो सपना पनि पूरा हुन्छ भन्नेमा विश्वास छ ।’

उनी ‘एक्टर’मै काम गर्नका लागि नेपाल आएकी हुन् । ‘म अमेरिकाबाट फर्किएको २/३ हप्ता भयो । म अमेरिकामै काम गरिरहेको थिएँ । तर, मलाई जन्मभूमि नै फर्किएर कर्म गर्न मन थियो । त्यही भएर म फर्किएँ,’ उनी सुनिइन् । उनले आफू प्रदीप खड्काको ‘प्रेमगीत’को बेलादेखि ‘फ्यान’ रहेको समेत बताइन् । अब एकसाथ काम गर्नका लागि आफू उत्साहित रहेको उनको भनाई थियो ।

 

pradeep khadka and divya rayamajhi (1)


‘म ‘प्रेमगीत’देखि नै उहाँको फ्यान हुँ । उहाँलाई पहिलोचोटी वर्कसपमा भेटेको थिएँ । एकदमै फ्रेण्ड्ली अनि दयालु पाएँ । उहाँसँग काम गर्न पाउँदा एकदमै खुसी छु,’ उनले अगाडि भनिन्, ‘उहाँलाई म पहिल्यैदेखि पछ्याइरहेको थिएँ । त्यसमाथि उहाँ यो फिल्ममा हुनुहुन्छ भन्ने भएपछि सुनमा सुगन्धजस्तै भइहाल्यो ।’ दिव्याले फिल्ममा आफू पोखराको युवतीको भूमिकामा देखिने पनि बताइन् ।

प्रदीपले पनि दिव्याको प्रशंसा गरे । दिव्याको आगमनले फिल्म क्षेत्रले एउटा राम्रो कलाकार पाएको उनको विश्वास छ । ‘दिव्यासँग काम गर्ने भनेर धेरैपटक प्रस्ताव भइरहेको थियो । मलाई पनि उहाँ नेपाली फिल्ममा आउँदा इन्डस्ट्रीले राम्रो कलाकार पाउँछ भन्ने लागेको थियो,’ उनले पत्रकारसँग भने । प्रदीपले ‘एक्टर’मा आफूले कलाकारकै भूमिकामा काम गर्न लागेको पनि जानकारी गराए ।