मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

फिल्ममा दिव्य देवको बढ्दो व्यस्तता, ‘बलिदान’मा जोडिए

फिल्मीखबर, काठमाडौं, 2024/04/22

SANTOSH SEN AND DIVYA DEV


अभिनेता दिव्य देव रंगमञ्चका उत्पादन हुन् । फिल्ममा भने ‘चिसो एस्ट्रे’बाट उनले डेब्यू गरे । यद्यपि, अभिनयको हिसाबले उनको पहिलो फिल्म ‘रुदाने’ हो, जुन वर्षौंदेखि अड्किएर बसेको छ । सशक्त अभिनय क्षमता र बोल्ड आवाजका कारण यतिबेला उनको नाटकभन्दा फिल्ममा व्यस्तता बढेको छ । प्राप्त जानकारीअनुसार, अहिले उनको पाइपलाइनमा लगभग आधा दर्जन फिल्म छन् ।

यसैबीच, दिव्य फिल्म ‘बलिदान’मा जोडिएका छन् । शनिवार निर्देशक तथा निर्माता सन्तोष सेनले उनीसँग कागजी सम्झौता गरेका हुन् । फिल्ममा उनले प्रमुख भूमिकामध्ये एकमा अभिनय गर्ने सेनले जानकारी गराए । ‘दिव्यजीलाई हामीले पहिलेदेखि नै नजरमा राखेका थियौँ तर, कुराकानी चाहिँ हुन सकेको थिएन । फिल्मको एक प्रमुख पात्रको लागि उहाँ एकदमै सुहाउनुहुन्छ,’ उनले भने ।

‘चिसो एस्ट्रे’सहित ‘हिजो आजका कुरा’, ‘द सेक्रेट्स अफ राधा’, ‘महाजात्रा’ जस्ता फिल्ममा काम गरिसकेका दिव्यले हालै ‘मेयर’को छायांकन सकाएका छन् । ‘महाजात्रा’बाट पहिलोपटक व्यावसायिक सफलता प्राप्त गरेका उनले ‘बलिदान’पछि ‘पिताम्बर’मा काम गर्नेछन् । यसरी हेर्दा उनको करिअरले राम्रो रफ्तार समातिरहेको देखिन्छ । उनी प्रतिष्ठित मेकरहरुको रोजाईमा परिरहेका छन् ।

‘बलिदान’बाट सुपरस्टार विराज भट्टका छोरा समीर भट्टले डेब्यू गर्दैछन् । अभिनेताद्वय सौगात मल्ल, अर्पण थापा र अभिनेत्री ऋचा शर्मा पनि फिल्ममा अनुबन्ध भइसकेका छन् । यस वर्षको दशैंको फूलपातीमा रिलिजको तयारी गरिएको फिल्मको यतिबेला पूर्वको इटहरीमा सेट डिजाइनको काम भइरहेको छ । यही बैशाख अन्तिमबाट फिल्मको छायांकन सुरु गर्ने तयारीमा निर्देशक सेन छन् ।