मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पल र पूजाको सम्बन्ध : कहिले चिसो, कहिले न्यानो

फिल्मीखबर, काठमाडौं, 2024/04/22

paul shah and pooja sharma

 

नेपालीमा एउटा उखान छ, ‘बुढाबुढीको झगडा परालको आगो ।’ अर्थात् क्षणमै सल्कन्छ र क्षणमै निभिहाल्छ । अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको सम्बन्ध पनि यो उखानको अर्थजस्तै छ । कहिले घनिष्ट देखिन्छन्, कहिले बोलचाल समेत हुँदैन । पलले जेल जीवन विताइरहँदा उनको पक्षमा पूजा खुलेरै देखिएकी थिइन् । पल जेलमुक्त भएपछि दुवैबीच लामो समय बोलचालै भएन ।

‘म यस्तो गीत गाउँछु २’ रिलिज भइरहँदा पल जेलमा थिए । त्यसबेला उनको तस्वीर अंकित टिसर्ट लगाएर पूजा हल-हलमा पुगेकी थिइन् । पललाई भेट्न उनी जेल पनि धेरै धाइन् । तर, जब पल बाहिर निस्किए, त्यसपछि दुवैबीच बोलचाल बन्द भयो । गत वर्ष सिने सर्कल अवार्डमा एकसाथ अवार्ड थाप्न स्टेज चढ्दा पनि दुवै अपरिचितझैँ देखिएका थिए । एकअर्काको अनुहार समेत हेरेनन् ।

पललाई चिढ्याउन पूजा गायिका समीक्षा अधिकारीसँग समेत नजिकिएकी थिइन् । यसले उनीहरुबीच झनै दूरी बढाउने काम गर्‍यो । तर, अहिले यो जोडी फेरि घनिष्ट बनिसकेको छ । फिल्म ‘रावायण’मा काम गर्नका लागि दुवैले चिसो सम्बन्धलाई न्यानो बनाएका हुन् । उनीहरुबीचको मिलनको सूत्रधार भने निर्देशक सुदर्शन थापा हुन् । उनकै अग्रसरतामा पल र पूजाको पूर्नमिलन भएको हो ।

‘म यस्तो गीत गाउँछु’को दुई श्रृंखलामा काम गरेका उनीहरु दर्शकले रुचाएका जोडी हुन् । र, दुवै एकअर्काका लागि ‘लक्की’ पनि मानिन्छन् । यसैले फुट्नुभन्दा जुट्नु राम्रो हो । पूजाको पलसँग मात्र होइन, अभिनेता प्रदीप खड्कासँग पनि सम्बन्ध सुध्रिसकेको छ । ‘रावायण’पछि उनीहरुले सुदर्शनको नयाँ फिल्ममा काम गर्दैछन् । यसरी हेर्दा पूजा सम्बन्ध सुधारको अभियानमा देखिएकी छन् ।