मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘डिग्री माइला’ले ५ करोडमाथि कमाएको दाबी, दयाहाङ भन्छन्, ‘व्यापार अपेक्षित नै हो’

फिल्मीखबर, काठमाडौं, 2024/04/19

digri maila 2

 

नयाँ वर्षको अवसर पारेर चैत ३० गतेबाट प्रदर्शनमा आएको फिल्म ‘डिग्री माइला’ले एक सातामा ५ करोडमाथि ग्रस व्यापार गरेको दाबी गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच फिल्मले ५ करोड ५ लाख कमाएको निर्माता मणिराम पोखरेलले जानकारी गराए । यो चलचित्र विकास बोर्डको तथ्यांक रहेको उनको जिकिर थियो । उनका अनुसार, फिल्मले काठमाडौं उपत्यकाभित्र २ करोड ५० लाख र उपत्यकाबाहिर २ करोड ५५ लाख कमाएको छ ।

निर्माता पोखरेलले फिल्मको ओपनिङ र त्यसपछिको व्यापार अपेक्षा गरेअनुरुप नभएको स्वीकार गरे । उनले भने, ‘ओपनिङ हामीले सोचेअनुसार भएन । दोस्रो दिन (नयाँ वर्ष) एकदमै राम्रो भयो । ‘कबड्डी ४’ र ‘जारी’को बुकिङ एकदमै राम्रो भएकाले हामीलाई बानी परिसकेको रहेछ । त्यसैले हामीले अपेक्षा धेरै गरेछौं । तर, हामीले जे-जे अपेक्षा गर्छौं, त्यही हुनुपर्छ भन्ने पनि छैन । अपेक्षा त ठूलो राख्न पाइयो नि (हाँस्दै) ।’

फिल्मका मुख्य अभिनेता दयाहाङ राई भने व्यापारलाई अपेक्षित नै मान्छन् । काम सुरु गर्दा नै अघिल्ला फिल्मको कलेक्सनभन्दा माथि पुग्ने अपेक्षा नराखेको उनको तर्क थियो । ‘म व्यापारलाई अपेक्षित नै मान्छु,’ उनी भन्छन्, ‘हामीले काम सुरु गर्दा एक किसिमको प्रेसर थियो । हामीले यसअघि गरेको फिल्मका कारण दर्शकमा अपेक्षा हुन्छ नै । त्यो अपेक्षा गरेअनुसार सधैं उस्तै हुँदैन । यसमा हामीले नयाँ तरिकाले काम गर्ने भनेर सोच बनाएका थियौं । फिल्म यस्तो हुन्छ र लगानी सुरक्षित गरेर केहीमाथि जान्छ होला तर हाम्रो टिमले बनाएको विगतका फिल्मको बक्स अफिस कलेक्सनसम्म पुग्छ भन्ने चाहिँ अपेक्षा राखेका थिएनौं ।’

दयाहाङले फिल्ममा काम गर्ने क्रममा शीर्षक र अन्य केही चीजको दबाब महसुस भएको अनुभव सुनाए । उनको बुझाईमा ‘डिग्री माइला’मा नयाँ तरिकाले काम गर्न खोजिएको हो । ‘यसमा हामीले नयाँ तरिकाले काम गर्न खोजेका थियौं । दर्शकहरुले हामीले विगतमा गरेको कामको हिसाबमा अपेक्षा गर्नुहुन्छ । सधैं त्यही तरिकाले काम गरेर पनि भएन,’ उनी सुनिए, ‘रामबाबु गुरुङको सधैं एउटै खालको फिल्म आयो भन्ने कुरा धेरै हुन्थ्यो । त्यसलाई ‘ब्रेक’ गरेर अर्को तरिकाले कथा भन्ने प्रयास गरेका थियौं । त्यसको प्रयासस्वरुप यो सुरुवात हो ।’

 

dayahang rai


फिल्म प्रदर्शनमा आएपछि दयाहाङले काठमाडौंका केही हलमा पुगेर दर्शक प्रतिक्रिया बुझेका थिए । त्यसपछि मोफसल हानिए । दुवैतिर फिल्मले मिश्रित प्रतिक्रिया पाएको उनी निर्धक्क बताउँछन् । ‘काठमाडौं र मोफसलमा गएर बुझ्दा मिश्रित प्रतिक्रिया पाएँ । कसैले असाध्धै मन पराउनुभएको छ, कसैले असाध्धै मन पराउनुभएको छैन । जसले मन पराउनुभएको छैन, उहाँहरुले अघिल्ला फिल्मसँग तुलना गर्नुभएको छ । मन पराउनेहरुले कन्टेन्टलाई सालिन तरिकाले भनिएको भन्दै प्रशंसा गर्नुभएको छ,’ उनले भने ।

पत्रकार सम्मेलनमा निर्देशक रामबाबु गुरुङ भने उपस्थित थिएनन् । जसले गर्दा उनी पत्रकारसँग ‘फेस’ गर्न डराएको गाइँगुइँ चलेको थियो । रिलिजपूर्व उनी प्रचारमा सक्रिय रुपमा देखिएका थिए । फिल्मले दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको छ भने समीक्षकले कमजोरी बढी औंल्याएका छन् । शुक्रबारबाट फिल्म दोस्रो हप्तामा प्रवेश गरेको छ ।