मिति : २०८१ वैशाख १८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

व्यापारमा ‘महाजात्रा’को पकड कायम, ‘जारी’को रेकर्ड पछ्याउँदै

फिल्मीखबर, काठमाडौं, 2024/04/14

mahajatra

 

गत चैत ९ गतेबाट प्रदर्शनमा आएको फिल्म हो, ‘महाजात्रा’ । अर्थात् रिलिजको हिसाबले चार हप्ता भैसकेको छ । तर, फिल्मप्रति दर्शकको आकर्षण अझै कम भएको छैन । काठमाडौं र मोफसल दुवैतिर फिल्म हेर्ने दर्शकको चाप उल्लेख्य देखिएको छ । नयाँ वर्षमा त धेरै हलमा फिल्मको टिकट नै हाहाकार भएको थियो । बिहानदेखि रातिसम्मका अधिकांश शोज हाउसफुल भएका थिए ।

नयाँ वर्षको साइत पारेर चैत ३० गतेबाट ‘कबड्डी’ समूहको फिल्म ‘डिग्री माइला’ रिलिजमा आएकाले यसले ‘महाजात्रा’को व्यापारमा असर गर्ने प्रक्षेपण गरिएको थियो । तर, नयाँ वर्षको व्यापार हेर्दा असरको झिनो संकेत पनि देखिँदैन । शनिबार काठमाडौंका केही हलहरुमा ‘डिग्री माइला’को भन्दा पनि उच्च अकुपेन्सी देखिएको थियो । र, आइतबार पनि फिल्मको अकुपेन्सी सन्तोषजनक छ ।

यतिबेला ‘महाजात्रा’ले गत वर्षको ब्लकबस्टर फिल्म ‘जारी’को १७ करोड १७ लाखमाथिको व्यापारिक रेकर्डलाई पछ्याइरहेको छ । नयाँ वर्ष (शनिबार)को सहित ‘महाजात्रा’ले १५ करोडमाथिको आँकडा नघाएका जनाइएको छ । तीन हप्तामा फिल्मको व्यापार १४ करोडमाथि थियो । आगामी दिनमा पनि व्यापार स्थिर रहेको अवस्थामा फिल्मले ‘जारी’को रेकर्ड तोड्ने सम्भावना प्रवल देखिन्छ ।

‘महाजात्रा’ले व्यापारिक सफलता प्राप्त गर्नुमा विभिन्न पक्ष महत्त्वपूर्ण छ । एक त यो सिक्वेल फिल्म हो । अघिल्ला दुई श्रृंखला (जात्रा र जात्रै जात्रा) सफल भएकाले यसको आफ्नै दर्शक समूह छ । र, यसपटक पारिवारिक दर्शकमाझ सर्वाधिक रुचाइएका अभिनेता हरिवंश आचार्य मुख्य भूमिकामा छन् । ‘वर्ड अफ माउथ’ पनि सुखद् प्राप्त हुँदा त्यसको प्रभाव फिल्मको व्यापारमा देखिएको हो ।

‘महाजात्रा’को सफलतासँगै प्रदीप भट्टराई वर्तमान समयका सर्वाधिक सफल निर्देशक बनेका छन् । विगत एक दशकयता लगातार ५ वटा सफल फिल्म दिने उनी एक्ला निर्देशक हुन् । उनी निर्देशित ‘शत्रु गते’ र ‘महापुरुष’ पनि सफल भएका थिए । निर्माता तथा अभिनेता रविन्द्र सिंह बानियाँसँग उनको जुगलबन्दी गजब फापेको छ । अब यो समूहको नयाँ फिल्म २०८२ को दशैंमा आउनेछ ।