मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आँचलको ‘एक मुठ्ठी बादल’ प्याकअप, निर्देशकदेखि छायाँकारसम्म महिला

फिल्मीखबर, काठमाडौं, 2024/04/14

aachal sharma

 

कमर्शियल भ्यालु भएका फिल्मलाई प्राथमिकता दिँदै आएकी अभिनेत्री आँचल शर्माले पहिलोपटक फरक धारको फिल्म ‘एक मुठ्ठी बादल’मा काम गरेकी छन् । यो फिल्म उनकै काँधमा छ । यसै साता उनले फिल्मको सम्पूर्ण छायांकन भ्याएकी छन् । कास्कीको लामाचौर क्षेत्रमा २२ दिन लामो छायांकनपछि फिल्म ‘प्याकअप’ भएको हो । फिल्मको महत्त्वपूर्ण विधामा बहुसंख्यक महिला छन् ।

डक्सकुल र प्लान इन्टरनेशनल नेपालले सन् २०२१ मा गरेको एक अनुसन्धानले नेपालमा १० प्रतिशतभन्दा कम महिलाहरुले फिल्म निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको निष्कर्ष निकालेको थियो । यही कुरालाई मध्यनजर गर्दै निर्माण टिमले फिल्मको मुख्य विधाहरुमा महिलालाई चयन गरेको हो । यसमा निर्देशन नै महिलाको छ । सहारा शर्माले फिल्म लेखन तथा निर्देशन गरेकी हुन् ।

फिल्मलाई भियतनामकी लिन ड्यानले खिचेकी हुन् । उनको यो तेस्रो फिचर फिल्म हो भने ‘एक मुठ्ठी बादल’ पहिलो नेपाली फिल्म हो । यसैगरी, प्रडक्सन डिजाइनमा भारतकी यशस्वी सबरवाल, अडियो मिक्सर प्रियंका गायकवाड र प्रमुख सहायक निर्देशकमा मर्णा जेम्स रहेका छन् । फिल्ममा कीर्ति जोशीले मेकअप तथा जानकी कडायतले पोशाक विभागको जिम्मेवारी सम्हालेकी थिइन् ।

निकुन श्रेष्ठको कार्यकारी निर्माता रहेको फिल्ममा अभिमन्यु दीक्षित, अनुप पौडेल, र सामीप्यराज तिमल्सेनाको संयुक्त निर्माण छ । गौथली इन्टरटेन्मेन्ट, मन प्रोडक्सन र अन्डरग्राउन्ड टकिजको प्रस्तुति रहेको फिल्ममा आँचलका साथै निशा शर्मा, अस्मिता गौतम, उषा रजक, भीमा मैनाली, शेखर चापागाइँ, मनिष निरौला, गौरव विष्ट, सहयोग राज अधिकारी आदिले पनि अभिनय गरेका छन् ।

 

aachal sharma


निर्देशक शर्माले फिल्मको निर्माण अप्ठेरो र चुनौतीपूर्ण रहेको भए पनि सिकाइका हिसाबले उपलब्धिपूर्ण भएको बताइन् । फिल्म खिच्न भनेर भियतनामबाट काठमाडौं आएकी ड्यानले खराब मौसम र भाषाको समस्याका बीच पनि नेपालको लाइटिङ र क्यामरा क्रुको परिश्रमले सुटिङ भनेकै समयमा सकिएकोमा खुसी व्यक्त गरिन् । फिल्मलाई अर्को वर्षभित्र प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।