मिति : २०८१ वैशाख २४, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

नयाँ वर्षमा आक्रामक ‘डिग्री माइला’

फिल्मीखबर, काठमाडौं, 2024/04/13

dayahang rai and aachal sharma

 

नयाँ वर्षको अवसर पारेर शुक्रबारदेखि प्रदर्शनमा आएको ‘कबड्डी’ समूहको फिल्म ‘डिग्री माइला’ले बक्स अफिसमा आफ्नो प्रभाव देखाउन थालेको छ । फिल्मले पहिलो दिन (शुक्रबार) देशभर २ सय बढी शोजमा ८० प्रतिशत अकुपेन्सी कायम गर्‍यो । शनिबार नयाँ वर्ष परेको हुँदा उपलब्ध शोजमा बिहानैदेखि उच्च अकुपेन्सी देखिएको छ । फिल्मको बुकिङ र ‘डोर सेल’ दुवै राम्रो देखिन्छ ।

देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्ससहित काठमाडौंका प्रायः हलमा शनिबार फिल्मलाई उपलब्ध अधिकांश शोज हाउसफुल भइरहेका छन् । मोफसलका हलमा पनि फिल्मको क्रेज राम्रो देखिएको छ । ‘वर्ड अफ माउथ’ सुखद् मिलेकाले दिउँसोबाट हलमा दर्शकको चाप थप बढ्ने निश्चित प्रायः छ । यसरी हेर्दा नयाँ वर्षमा मात्र फिल्मको व्यापार डेढ करोडमाथि हुने सम्भावना देखिन्छ ।

फिल्म प्रदर्शनमा आएसँगै अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्मासहितका कलाकारहरुले हल पुगेर दर्शकसँग साक्षात्कार गर्दै प्रतिक्रिया बुझिरहेका छन् । दर्शकहरुले फिल्मको तारिफ गर्दा उनीहरुको मुहारमा खुसी देखिएको छ । शनिबार दयाहाङको जन्मदिन समेत परेको छ । उनले कमलपोखरीस्थित बिग मुभिजमा फिल्मको टिमसँग केक काट्दै जन्मदिन सेलिब्रेट गरेका छन् ।

यसैबीच, शनिबार शीर्ष गीत ‘म डिग्री माइला हो’ सार्वजनिक गरिएको छ । गीतमा पवन गिरीको स्वर छ भने स्वप्निल स्मृतिको शब्द रचना तथा झुमा लिम्बूको संगीत छ । गीतले दयाहाङको चरित्रलाई बुझाएको छ भने आँचलसँगको प्रेमलाई पनि व्यक्त गरिएको छ । रामबाबु गरुङको निर्देशनमा बनेको फिल्मले एक शिक्षित माइला पात्रको कथा भन्छ, जसलाई आफूप्रति अहंकार र घमण्ड छ ।