मिति : २०८१ वैशाख २०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

उचित शो नपाउने भएपछि ‘द रेड सुटकेस’ क्यूएफएक्स चेनमा नलाग्ने

फिल्मीखबर, काठमाडौं, 2024/04/07

नयाँ वर्षको अवसर पारेर यही चैत ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘द रेड सुटकेस’ देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्समा नलाग्ने भएको छ । निर्माण कम्पनी आइसफल प्रोडक्सन्सले आइतबार विज्ञप्ति जारी गर्दै क्यूएफएक्सले स्वदेशी र विदेशी फिल्मको चापका कारण उचित शो दिन नसक्ने आसय व्यक्त गरेपछि क्यूएफएक्सबाहेकको हलमा मात्र फिल्म रिलिज हुने जनाएको छ ।

 


निर्माता रामकृष्ण पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विदेशमा दर्शक तथा समीक्षकबाट चलचित्रले राम्रै तारिफ पाए पनि हाम्रो लागि घरेलु दर्शकको प्रतिक्रियाको बेग्लै अर्थ रहन्छ । यही कारण विदेशी वितरकको क्यालेन्डरसँग सामन्जस्यता मिलाउँदै हामीले चैत्र ३० गतेलाई प्रदर्शन मिति घोषणा गरेका हौँ । तर, देशको ठूलो सिनेमा चेन क्यूएफएक्सले ‘द रेड सुटकेस’लाई अन्य देशी-विदेशी चलचित्रको चापका कारण उचित सो दिन नसकिने र अर्को हप्ता रिलिज गरे पुर्नविचार गर्न सकिने आसयको इमेल लेखेपछि हामीले यसलाई आपत्तिजनक मान्दै क्यूएफएक्स चेनमा चलचित्र प्रदर्शन नगर्ने घोषणा गरेका छौँ ।’

कलात्मक चेतमा निर्माण भएका फिल्मलाई व्यापार नगर्ने फिल्मको लेबल लगाएर बारम्बार निरुत्साहित गर्ने काम भइरहेकोप्रति निर्माता पोखरेलले आपत्ति जनाएका छन् । चाडपर्व र विदाको समयमा यस्ता फिल्मलाई प्रदर्शनको मौका नदिएर नजानिँदो गरी हलले फरक धारका फिल्म दर्शकको रुचिमा पर्दैनन् भन्ने भाष्य निर्माण गरिरहेको उनको आरोप छ ।

‘हामी चलचित्र घरहरुको व्यापारिक सिद्धान्तको विरुद्धमा कदापि छैनौँ । हामीले चलचित्र घरका सम्पूर्ण शो हामीले पाउनुपर्छ भन्ने आग्रह राखेर यस्तो निर्णय गरेका पनि हैनौँ । हामी, हाम्रो चलचित्रको दर्शक सीमाको बारेमा पनि अवगत छौँ । तर कम्तिमा शुक्रबार हलमा चलचित्र नलागुञ्जेल, कुनै पनि चलचित्रको व्यापारको भविष्यवाणी नगरौँ भन्ने हाम्रो आग्रह हो । हामी सारमा सम्मानजनक व्यवहारको पक्षमा छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

 

May be an image of text


फिडेल देवकोटाको लेखन तथा निर्देशनमा बनेको फिल्ममा सौगात मल्ल, विपिन कार्की, सृष्टि श्रेष्ठ, प्रविन खतिवडा लगायतको अभिनय छ । फिल्ममा सुशन प्रजापतिको छायांकन र समन अलभितिगाको सम्पादन छ । रामकृष्ण पोखरेल, शोभा थापा र फिडेल देवकोटा निर्माता रहेको फिल्मको सह-निर्माता श्रीलंकाका विमुक्ति जयसुन्दरा हुन् । निर्माता पोखरेलले यसअघि ‘ऐना झ्यालको पुतली’ र ‘हल्कारा’ निर्माण गरेका थिए ।