मिति : २०८१ वैशाख २४, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘महाजात्रा’ले कटायो १० करोड, ‘जारी’को रेकर्ड तोड्ला ?

फिल्मीखबर, काठमाडौं, 2024/04/05

mahajatra

 

होलीको अवसर पारेर चैत ९ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘महाजात्रा’ यस वर्ष सर्वाधिक कमाई गर्ने दोस्रो फिल्म बनेको छ । ‘जारी’ १७ करोडमाथिको कमाईसहित पहिलो नम्बरमा छ भने ‘महाजात्रा’ले १० करोडमाथि कमाउँदै दोस्रो स्थान सुरक्षित गरेको छ । निर्माण टिमले शुक्रबार एक पोस्टरमार्फत् फिल्मको दुई हप्ताको कमाई १० करोड १४ लाख दाबी गर्दै ब्लकबस्टर घोषणा गर्‍यो ।

पहिलो हप्ता फिल्मले ६ करोड २४ लाख कमाउँदा दोस्रो हप्ताको कमाई ३ करोड ९० लाख छ । शुक्रबारबाट तेस्रो हप्तामा प्रवेश गरेको फिल्मप्रति दर्शकको क्रेज अझै घटेको छैन । प्राप्त शोजमा सुखद् अकुपेन्सी देखिएको छ । बुधबार चाबहिलको एफक्युब हलमा मध्याराति (११:४५)को शो समेत हाउसफुल भएको थियो । तेस्रो हप्तामा पनि प्रायः मल्टीप्लेक्सले राम्रो शोज बाँडेका छन् ।

दुई हप्ता फिल्मले उत्साहजनक व्यापार गरेपछि निर्देशक प्रदीप भट्टराईले दर्शकलाई धन्यवाद दिँदै फेसबुकमा लेखेका छन्, ‘अर्को सिनेमा ढुक्कले बनाउने वातावरण बनाइदिनुभयो । फेरि राम्रो सिनेमा बनाएर तपाईंहरुको यो गुन तिर्नेछौं । यति मीठो साथ अनि विश्वासको लागि धन्यवाद ।’ ‘महाजात्रा’सहित उनको पाँचवटा फिल्म (जात्रा, शत्रु गते, जात्रै जात्रा र महापुरुष) सफल भएका छन् ।

अब ‘महाजात्रा’लाई ‘जारी’को १७ करोडको रेकर्ड तोड्नुपर्ने ठूलो चुनौती छ । त्यसका लागि आगामी दिनको व्यापार पनि स्थिर हुन जरुरी छ । तर, ‘जारी’को रेकर्ड तोड्न फिल्मलाई सहज देखिँदैन । किनकि, यो हप्ता मात्र फिल्मले हलमा ढलिमली हुन पाउँछ । आगामी हप्ता (चैत ३० गते) यस वर्षको अर्को ठूलो फिल्म ‘डिग्री माइला’ प्रदर्शनमा आउन लागेकोले व्यापार प्रभावित हुनसक्छ ।