मिति : २०८१ वैशाख २४, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पूजार सार्की’, ‘फर्की फर्की’ र ‘दान्भी’ भिड्न लाग्नुको अन्तर्य

फिल्मीखबर, काठमाडौं, 2024/04/05

नेपाली फिल्मबीच भीडन्त नौलो होइन । यो नियति बनिसकेको छ । तर, अक्सर भीडन्त मितिको अभावले भन्दा पनि इगो साँध्न हुने गर्छ । कहिले, कहाँ, कोसँग चित्त बुझेको हुँदैछ, त्यसैको रिसमा फिल्म भिडाइने गरिन्छ । आगामी वर्षको जेठ १० गते अर्थात् बुद्ध जयन्तीमा पनि यही दोहोरिँदैछ । यो मितिमा ‘पूजार सार्की’, ‘फर्की फर्की’ र ‘दान्भी’ गरी तीनवटा फिल्म भिड्ने निश्चित भएको छ ।

यी तीनवटै फिल्ममा ‘स्टार’ कलाकार छन् । ‘पूजार सार्की’मा कलाकारको ‘लाइनअप’ अझ बलियो छ । फिल्ममा तीन अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह मुख्य भूमिकामा छन् । उनीहरुले पहिलोपटक एकसाथ काम गरेकाले फिल्मप्रति धेरैको चासो देखिएको छ । ‘फर्की फर्की’मा अनमोल केसी र जसिता गुरुङ छन् भने ‘दान्भी’मा पूजा शर्मा एक्सन भूमिकामा देखिँदैछिन् ।

यी तीनवटा फिल्म एउटै मितिमा भिड्न लाग्नुको अन्तर्य गहिरो छ । मितिको अभावले यो भिडन्त हुन लागेको हो । यसलाई इगोको भिडन्तको रुपमा अर्थ्याउँदा अतिशयुक्ति हुँदैन । खासमा ‘पूजार सार्की’को भीडन्त ‘दान्भी’सँग नभइ ‘फर्की फर्की’सँग हो । ‘पूजार सार्की’का निर्देशक दिनेश राउत र ‘फर्की फर्की’ निर्माता रोहित अधिकारीको दुश्मनीका कारण यी दुई फिल्म भिड्न लागेका हुन् ।

 

pujar sarki, danvi and farki farki


दिनेश र रोहितले फिल्म ‘छब्बीस करोड’मा सहकार्य गर्दै थिए । दीपकराज गिरी समूहसँग टिमअप हुनसक्ने चर्चा थियो भने स्क्रिप्ट लगभग पूरा भइसकेको थियो । तर, अन्तिम समयमा उनीहरुबीच सृजनात्मक मतभेद भएपछि गठबन्धन टुट्यो । त्यसपछि दुवैबीच पानी बाराबर छ । ‘पूजार सार्की’ र ‘फर्की फर्की’ भिड्ने निश्चित हुनु दिनेश र रोहितबीच दुश्मनीको परिणाम हो भन्दा गलत हुँदैन ।

जेठ १० गते ‘दान्भी’ आउन लाग्नुमा भने अनमोल र पूजाबीचको दुश्मनी मुख्य कारण हो । अनमोलले पूजाको एउटा फिल्ममा काम गर्ने सम्झौता गरेर पछि हात झिकेका थिए । जसले गर्दा पूजालाई ठूलो आर्थिक घाटा भएको थियो । त्यही रिस अब बक्स अफिसमा देखिन लागेको हो । ‘दान्भी’लाई जेठ १० गते ल्याउन लाग्नुमा निर्माता र वितरकको भन्दा पनि पूजाको ठूलो भूमिका मानिएको छ ।

तर, ‘दान्भी’ले मैदान छाड्न सक्ने चर्चा पनि चलिरहेको छ । बिहीबार पूजाले प्रदर्शन मिति उल्लेख नगरी फेसबुकमा पोस्टर सेअर गर्नु र शुक्रबार ‘पूजार सार्की’को पोस्टर सेअर गर्दै ‘दान्भी’का निर्देशक रुपेश तामाङले वितरक रोहित कट्टेललाई बधाई दिनुले पनि फिल्म पछाडि हट्न लागेको चर्चामा बल पुग्छ । ‘पूजार सार्की’मा पल भएकाले पनि पूजा अब भिड्ने मनस्थिति देखिएकी छैनन् ।

‘पूजार सार्की’, ‘फर्की फर्की’ र ‘दान्भी’को भीडन्त जुर्नुमा विदा पनि मुख्य कारण हो ।  किनकि, जेठ १० गते बुद्ध जयन्ती र जेठ १५ गते गणतन्त्र दिवसको विदा छ । यही दुईवटा विदा लक्षित गर्दै तीन फिल्म एकसाथ भिड्न लागेका हुन् । अन्य दिनभन्दा विदामा फिल्मको व्यापार केही राम्रो हुने गरेको छ । अब यी तीन फिल्ममध्ये बक्स अफिसमा कसले बाजी मार्छ, त्यो पखाईको विषय हो ।