मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बद्री बहादुर’ नचले सन्यास लिने जयकिशनको घोषणा

फिल्मीखबर, काठमाडौं, 2024/04/03

पछिल्लो समय अभिनयभन्दा उट्पट्याङ अभिव्यक्तिले चर्चामा आउने गरेका अभिनेता जयकिशन बस्नेतले आफ्नो आगामी फिल्म ‘बद्री बहादुर’ नचलेको अवस्थामा अभिनयबाट सन्यास लिने घोषणा गरेका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यो फिल्मबाट आफूलाई ठूलो अपेक्षा रहेको बताउँदै कथमकदाचित असफल भए कलाकारिताबाट नै सन्यास लिने बताए ।

‘जबसम्म म घाटामा जान्नँ तबसम्म फिल्म बनाइराख्छु भन्थेँ । ‘धूम ४’बाट पहिलोपटक घाटा लाग्यो । त्यसपछि मैले फिल्म बनाएको छैन,’ उनले अगाडि भने, ‘आज म के घोषणा गर्छु भने यदि ‘बद्री बहादुर’ चलेन भने कलाकारिताबाट सन्यास लिन्छु । म रिलिजको दुई दिनसम्म हेर्छु । त्यो दुई दिन फिल्म चलेन भने म सन्यास लिन्छु ।’ यो फिल्म चैत २३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

 

jaykishan basnet


आफूलाई दर्शकले रुचाएकै भूमिकामा फिल्ममा अभिनय गरेको जयकिशनको भनाई छ । ‘मलाई दर्शकले कमेडी भूमिकामा बढी रुचाउनुहुन्छ । यसमा पनि मेरो त्यस्तै भूमिका छ । कमेडी, एक्सन, रोदन सबै छ यो फिल्ममा,’ उनी भन्छन्, ‘अहिले देशमा हरेक मानिस दुःखी छन् । यो फिल्म कमेडी भएकाले दर्शकलाई केही समय भए पनि त्यसबाट मुक्त गराउँछ भन्नेमा म पूर्ण विश्वस्त छु ।’

त्यस्तै, अभिनेता राजीव जंग बस्नेतले ‘बद्री बहादुर’मा काम गर्दा धेरै कुरा सिक्न पाएको अनुभव सुनाए । मार्सल आर्ट खेलाडी समेत रहेका उनले भने, ‘रिलमा हुने फाइट नै फरक हुने रहेछ । त्यसका लागि मैले ट्रेनिङ नै लिएँ । जय किशन दाईबाट अभिनय सिक्न पाएँ । कलामा जुन स्कुलिङ हुनुपर्थ्यो, त्यो मैले ‘बद्री बहादुर’बाट पूरा गरेको छु ।’ राजीवले काम गरेको पहिलो फिल्म नै यही हो ।

फिल्मलाई शोभित बस्नेतले निर्देशन गरेका हुन् । उनी आफैं पनि विशेष भूमिकामा छन् । धिरेन शाक्य, उत्तम केसी, एलिना गुरुङ, छुल्ठिम गुरुङ लगायतको पनि अभिनय रहेको फिल्मको एक गीतमा अभिनेता सलोन बस्नेत र अभिनेत्री पूजा शर्माले नृत्य गरेका छन् । यो फिल्मलाई भारतीय कमेडियन कपिल शर्माले शुभकामना सन्देश समेत दिएका छन्, जुन ट्रेलरमा समावेश गरिएको छ ।