मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

११ महिनामा दयाहाङका ८ फिल्म, कमाई ३४ करोडमाथि

फिल्मीखबर, काठमाडौं, 2024/04/03

नाटक हुँदै सहायक चरित्रबाट फिल्ममा आफ्नो करिअर सुरु गरेका अभिनेता दयाहाङ राई अहिले नेपाली फिल्मकै सबैभन्दा ठूलो ‘स्टार’ बनेका छन् । विगत २/३ वर्षयता फिल्म इन्डस्ट्री नै उनमा निर्भर छ भन्दा अतिशयुक्ति हुँदैन । किनकि, माग पनि उनकै छ र फिल्म पनि उनकै चलिरहेका छन् । अहिले उनको हातमा २० वटाभन्दा बढी छन् । र, उनीमाथि ३० करोडमाथिको लगानी छ ।

केही वर्षयता दयाहाङ नेपाली फिल्मको ‘नम्बर वान’ नायकको स्थानमा छन् । यस वर्ष पनि उनी यो स्थानबाट डगमगाएका छैनन् । गएको ११ महिना (बैशाखदेखि फागुनसम्म)मा उनको ८ वटा फिल्म रिलिज भए । त्यसमध्ये ४ फिल्म फ्लप हुँदा बाँकी दुई फिल्म हिट भए भने एक सुपरहिट र एक ब्लकबस्टर सावित भयो । यस वर्ष सर्वाधिक कमाई गर्ने फिल्मको रेकर्ड नै उनको नाममा छ ।

 

दयाहाङको दाबी- 'हात्तीछाप'को कथामा छुट्टै संसार छ'


बैशाख १ गते उनका आफ्नै दुई फिल्म ‘जारी’ र ‘बिहे पास’बीच भिडन्त भएको थियो । त्यसमध्ये ‘जारी’ले १७ करोडमाथिको कमाई गर्दै ब्लकबस्टरको रेकर्ड राख्यो । ‘बिहे पास’ भने १ करोडमा टुंगिँदा फ्लप बन्यो । जेठमा आएको उनको अर्को फिल्म ‘नीरफूल’ पनि चलेन । यसको कमाई २५ लाख पनि छैन । गत भदौमा आएको ‘नाङ्गो गाउँ’ भने ३ करोडमाथिको कमाईसहित हिट बन्यो ।

त्यसैगरी, कात्तिकमा रिलिज भएको दयाहाङको अर्को फिल्म ‘दिमाग खराब’ ९ करोडमाथिको कमाई गर्दै सुपरहिट सावित भयो । गत माघ २६ गते भने उनका आफ्नै दुई फिल्म ‘दयारानी’ र ‘हात्तीछाप’ एकसाथ रिलिज भए । यसमध्ये ‘दयारानी’ लगानी उठाउँदै हिटको सूचीमा पर्‍यो । फिल्मको व्यापार २ करोड ६० लाखमाथि छ । ‘हात्तीछाप’ भने १ करोड १० लाखमा समेटिँदै फ्लप बन्यो । 

गत फागुनमा रिलिज भएको दयाहाङको अर्को फिल्म ‘रङ्गेली’ पनि फ्लप हुनबाट जोगिएन । यसको कमाई ५५ लाख हाराहारी छ । यसरी हेर्दा ११ महिनामा उनका ८ वटा फिल्मले ३४ करोडमाथि कमाई गरेका छन् । सम्भवतः नेपाली फिल्मको इतिहासमै एक वर्षमा एउटै नायकको फिल्मले यति ठूलो व्यापार गरेको रेकर्ड छैन । तसर्थ उनी यस वर्षको सबैभन्दा सफल नायक बनेका छन् ।

अब यही चैत ३० गतेबाट दयाहाङको अर्को फिल्म ‘डिग्री माइला’ प्रदर्शन हुँदैछ । यस वर्षको अन्तिम दिनमा रिलिज हुन लागेकोले फिल्मको व्यापार यसै वर्ष जोडिनेछ । यो फिल्म हिट हुनसक्ने चर्चा छ । आगामी बैशाख २१ गते रिलिज हुन लागेको ‘मनसरा’ पनि उनको आशातित फिल्ममध्ये एक हो । यो हिसाबले दयाहाङको यस वर्षको विदाई र अर्को वर्षको सुरुवात दुवै राम्रो हुने देखिन्छ ।