मिति : २०८१ वैशाख २४, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सौगात र विपिन स्टारर ‘द रेड सुटकेस’ ट्रेलर रिलिज

फिल्मीखबर, काठमाडौं, 2024/04/02

Saugat Malla, Shristi Shrestha, Bipin Karki

 

अभिनयमा भर्सटायल मानिएका सौगात मल्ल र विपिन कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘द रेड सुटकेस’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक २ मिनेट १४ सेकेण्ड लामो ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । ट्रेलरले विदेशबाट आएको शवको कफिन ‘पिकअप भ्यान’मा लिएर गन्तव्यसम्म पुर्‍याउने पात्रलाई पछ्याएको छ ।

सौगातले ड्राइभरको भूमिका निभाएका छन् । शव लिएर जाँदै गर्दा गाडी बीच बाटोमै विग्रिएपछि नजिककै घरमा बास बस्ने क्रममा उनले भोगेको परिस्थितिलाई ट्रेलरमा देखाउन खोजिएको छ । विपिन भने पूर्वआर्मीको भूमिका हुनसक्ने देखिन्छ । ट्रेलरको अन्तिम सिनमा सौगातसँगको उनको संवाद अर्थपूर्ण छ । अभिनेत्री सृष्टि श्रेष्ठ पनि ट्रेलरमा प्रस्तुत छिन् । तर, उनको संवाद समावेश छैन ।

फिडेल देवकोटाको लेखन तथा निर्देशनमा बनेको फिल्ममा प्रविन खतिवडाको पनि मुख्य भूमिका छ । फिल्ममा सुशन प्रजापतिको छायांकन र समन अलभितिगाको सम्पादन छ । रामकृष्ण पोखरेल, शोभा थापा र फिडेल देवकोटा निर्माता रहेको फिल्मको सह-निर्माता श्रीलंकाका विमुक्ति जयसुन्दरा हुन् । निर्माता पोखरेलले यसअघि ‘ऐना झ्यालको पुतली’ र ‘हल्कारा’ निर्माण गरेका थिए ।

जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल र भारतको मुम्बई फिल्म फेस्टिभलमा छनोट भएको यो फिल्मले विश्वविख्यात भेनिस फिल्म फेस्टिभल तथा जाफ्ना इन्टरनेशनल फिल्म फेस्टिभलमा अवार्ड जितिसकेको छ । नयाँ वर्षको अवसर पारेर यही चैत ३० गतेबाट फिल्म प्रदर्शन हुँदैछ । यसको भिडन्त ‘डिग्री माइला’सँग हुनेछ ।