मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एक हप्तामा ‘महाजात्रा’ले कटायो ६ करोड, कति आउँछ निर्मातालाई ?

फिल्मीखबर, काठमाडौं, 2024/03/29

mahajatra

 

प्रदर्शनको एक हप्तामा फिल्म ‘महाजात्रा’ले घरेलू बजारमा सानदार अंक जोडेको छ । १ करोड २३ लाखको ओपनिङ गर्दै पहिलो विकेन्डमा ४ करोड २६ लाख कमाएको फिल्मले पहिलो हप्तामा ६ करोड नघाएको छ । शुक्रबार सार्वजनिक गरिएको रिपोर्टमा एक हप्ताको कमाई ६ करोड २४ लाख उल्लेख छ । अर्थात् फिल्मले सोमबारदेखि बिहीबारसम्म १ करोड ९८ लाख कमाएको छ ।

६ करोड २४ लाख फिल्मको ‘ग्रस’ व्यापार हो । यसबाट राज्यलाई ट्याक्स, प्रदर्शक (हल)को सेयर र वितरकको कमिसन कटाएर निर्मातालाई लगभग ३ करोड आउँछ । फिल्मको लागत २ करोड जनाइएको छ । अर्थात् ‘महाजात्रा’ले पहिलो हप्तामा नै लगानी सुरक्षित गरेर निर्मातालाई नाफा दिलाएको छ । त्यसो त ओभरसिज र डिजिटल राइट्सबाटै फिल्मले लगानी उठाइसकेको थियो ।

शुक्रबारदेखि दोस्रो हप्तामा प्रवेश गरेको फिल्मले १० करोडको आँकडा कटाउने प्रक्षेपण गरिएको छ । तर, यसका लागि आगामी दिनमा पनि फिल्मको व्यापार स्थिर हुन जरुरी छ । हलहरुमा दर्शकको चाप र ‘वर्ड अफ माउथ’ हेर्दा फिल्मलाई ‘डबल डिजिट’ पार गर्न ठूलो समस्या देखिँदैन । देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले फिल्मलाई सुपरहिट घोषणा गरिसकेको छ ।

प्रदीप भट्टराईको निर्देशनमा बनेको फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, राजाराम पौडेल, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दिव्य देव, गौमाया गुरुङ, सुमन कार्की लगायतको अभिनय छ । प्रायः दर्शकले फिल्मको मध्यान्तरअघिको कमेडी पाटोलाई रुचाएका छन् । दोस्रो हाफमा राजनीतिलाई जोड दिइँदा फिल्म मूल कथाबाट भड्किएको छ ।