मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बलिदान’मा नीतिको सम्भावना कति ?

फिल्मीखबर, काठमाडौं, 2024/03/28

niti shah

 

‘प्रेमगीत’ श्रृंखलालाई रोकेर यतिबेला निर्माता सन्तोष सेन फिल्म ‘बलिदान’ निर्माणको तयारीमा जुटेका छन् । कलाकारको बलियो ‘लाइनअप’ बनाउने प्रयासमा रहेका उनले शीर्ष भूमिकामा अभिनेता विराज भट्टका छोरा (समीर भट्ट)लाई लिएका छन् । गत हप्ता सार्वजनिक उनको क्यारेक्टर लुक्सले राम्रै चर्चा पायो । फिल्मको खलपात्र (भिलेन)मा भने सौगात मल्ल र अर्पण थापा देखिँदैछन् ।

अब ‘लिड लेडी’मा निर्माता सेनले स्थापित अभिनेत्री लिन्छन् वा नयाँ अनुहार भित्राउँछन् भन्ने चासो धेरैमा छ । यतिबेला फिल्मवृतमा भने नीति शाहको नाममा चर्चामा छ । उनले फिल्ममा काम गर्ने मोटामोटी सहमति नै भइसकेको बताइन्छ । अघिल्लो हप्ता उनले ‘बलिदान’को पोस्टर सेअर गर्दै निर्माता सेनलाई शुभकामना समेत दिएकी थिइन् । यसले पनि बजारको चर्चामा बल पुर्‍याएको छ ।

निर्माता सेनले भने नीति निश्चित नभइसकेको बताएका छन् । यद्यपि, केही चरण कुराकानी भएको उनले स्वीकार गरे । ‘फिल्मलाई लिएर नीतिसँग हाम्रो कुराकानी भएको सत्य हो । तर, निश्चित गरेका छैनौं । उहाँले फिल्मको चरित्रलाई निभाउन सक्नुहुन्छ कि हुन्न भन्ने महत्त्वपूर्ण कुरा हो । हामी अहिले छलफलकै चरणमा छौं,’ उनले भने । उनी नीतिको अडिसन लिने योजनामा देखिएका छन् ।

यसअघि सन्तोषले निर्माण गर्ने भनिएको फिल्म ‘हुतुतु’मा पनि नीतिले काम गर्ने निश्चित भएको थियो । तर, यो फिल्म नै बन्न सकेन । त्यही पुरानै सम्झौतामा नीतिलाई ‘बलिदान’मा लिन खोजिएको चर्चा छ । तर, यो कुरालाई ठाडै नकार्छन्, सेन । ‘हुतुतु’को सम्झौता अलग रहेको उनको भनाई छ । उनी आगामी बैशाख अन्तिम साताबाट तराई क्षेत्रमा फिल्मको छायांकन सुरु गर्ने योजनामा छन् ।