मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘महाजात्रा’को गीतमार्फत् २०८२ को दशैंमा नयाँ फिल्म ल्याउने घोषणा

फिल्मीखबर, काठमाडौं, 2024/03/26

Bipin Karki, Rabindra Singh Baniya, Rabindra Jha

 

शुक्रबारबाट प्रदर्शनमा आएको ‘जात्रा’ फ्रेन्चाइजको तेस्रो श्रृंखला ‘महाजात्रा’ले तीन दिन घरेलू बक्स अफिसमा उत्साहजनक व्यापार गर्‍यो । होली विदा सकिएसँगै कामकाजी दिन सुरु भएकाले फिल्मको व्यापारमा केही गिरावट आएको छ । तर, मध्याह्न र रात्रि शोजमा फिल्मको अकुपेन्सी उच्च छ । सुखद् ‘वर्ड अफ माउथ’ प्राप्त भएकाले फिल्मले हलमा लामो यात्रा गर्ने सम्भावना देखिन्छ ।

यसैबीच, फिल्ममा समावेश ‘साथी’ बोलको गीत सार्वजनिक गरिएको छ । फिल्मका तीन पात्र विपिन कार्की (फडिन्द्र), रविन्द्र सिंह बानियाँ (जोयश) र रविन्द्र झा (मुन्ना)को मित्रता बोल्ने गीतमा हर्क साउदको शब्द रचना छ भने कालीप्रसाद बाँस्कोटाको संगीत र स्वर छ । फिल्ममा यो गीतले कथावाचनको काम गरेको छ । तीन पात्रको झाँगिँदो मित्रता र आत्मीयतालाई गीतमा देखाइएको छ ।

प्रदीप भट्टराईको निर्देशनमा बनेको फिल्ममा हरिवंश आचार्य, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, वर्षा राउत, दिव्य देव, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, अरविन खड्काको पनि अभिनय छ । सार्वजनिक गीतको अन्तिममा ‘अब २०८२ को दशैंमा भेटौंला’ भनेर उल्लेख गरिएको छ । अर्थात् ‘जात्रा’ समूहको नयाँ फिल्म ०८२ सालको दशैंमा आउने भएको छ ।