मिति : २०८१ वैशाख १६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘डिग्री माइला’ ट्रेलरमा अहंकारी पात्रको कथा

फिल्मीखबर, काठमाडौं, 2024/03/22

dayahang rai

 

आगामी नयाँ वर्ष अर्थात् चैत ३० गतेदेखि प्रदर्शन हुन लागेको रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ४ मिनेट लम्बाईको ट्रेलरमा एमए पास गरेर गाउँ फर्किएको माइला पात्र (दयाहाङ राई)को अहंकार र त्यसले उत्पन्न परिस्थितिलाई देखाइएको छ । दयाहाङका केही पञ्चलाइन रोचक छन् ।

गाउँको कलेजमा अंग्रेजी शिक्षक नहुँदा कलेज नै खारेजी हुने अवस्थामा पुगेपछि अंग्रेजीमा एमए गरेको माइला पात्रलाई जागिरको प्रस्ताव गरिन्छ । तर, उसले अहंकार देखाउँछ । त्यसपछि उसलाई कलेजमा ल्याउन भएको रस्साकस्सीलाई ट्रेलरमा रोचक ढंगले बुनिएको छ । दयाहाङको चरित्रले शैक्षिक बेरोजगारीमाथि व्यंग्य गर्छ । उनको ‘लभ इन्ट्रेस्ट’को भूमिकामा भने आँचल शर्मा छिन् ।

बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा प्रकाश घिमिरे, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, हिउँवाला गौतम, कमलमणि नेपाल, सोमनाथ खनाल, पशुपति राई, लोकेन्द्र लेखक आदिको पनि अभिनय रहेको छ । ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने उखानलाई ट्यागलाइन बनाएको फिल्ममा शिवराम श्रेष्ठ र रिले एच. शेनको छायांकन तथा निमेष श्रेष्ठको सम्पादन छ ।

‘डिग्री माइला’ नाटकमाथि बनेको फिल्म हो । २०६९ र २०७१ सालमा गरी दुईपटक मण्डला थिएटरमा ‘डिग्री माइला’ नाटक मञ्चन भएको थियो । नाटकलाई दयाहाङले निर्देशन गरेका थिए । रामबाबु गुरुङले नाटककै कथालाई केही परिमार्जित गरेर फिल्मको स्वरुप दिएका हुन् । सार्वजनिक टिजरमा ऋचा शर्मा पनि देखिएकी छन् । उनी शिक्षा अधिकारीको भूमिकामा हुनसक्ने बुझिन्छ ।