फिल्म रिलिजको समयमा निर्माता र कलाकारको सम्बन्ध चिसिएका धेरै उदाहरण छन् । टिमभित्रै मनमुटाव हुँदा त्यसको असर फिल्मको प्रचारमा पर्छ । यही पुष ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘चपली हाइट ३’ का निर्माता अर्जुन कुमारसँग पनि फिल्मका मुख्य कलाकारहरुको पानी बारबारको सम्बन्ध छ । जसले गर्दा फिल्मको प्रचारमा कलाकारहरुले साथ दिएका छैनन् ।
हुन त, ‘चपली हाइट ३’ का कलाकारहरु स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी लगायतले दुई चरण फिल्मको प्रचार गर्न कुनै कसर छाडेका थिएनन् । २०७६ सालको चैत २८ मा फिल्मको प्रदर्शन मिति घोषणा हुँदा कलाकारहरुले दिनरात नभइ प्रचार गरेका थिए । तर, प्रदर्शनको मुखमा कोरोनाका कारण सरकारले हलहरु बन्द गर्ने घोषणा गरेपछि फिल्मको रिलिज पनि रोकियो ।
दुई वर्ष बन्द भएर यसपालीको दशैंबाट हलहरु पूर्ण रुपमा खुलेपछि फिल्मले पुष २ गतेलाई प्रदर्शन मिति घोषणा गर्यो । यो बेला पनि फिल्मका मुख्य कलाकारहरुले सबै काम छाडेर प्रचार-प्रसारमा साथ दिए । तर, यही मितिमा साउथ फिल्म ‘पुष्पा’ को हिन्दी डब र हलिउड फिल्म ‘स्पाइडर म्यान : नो वे होम’ प्रदर्शनमा आउने भएपछि ‘चपली हाइट ३’ पुष १५ हुँदै पुष ३० मा पुगेको छ ।
(2).jpg)
फिल्म ‘कठपुतली’ का लागि पुष १५ को मिति छाड्दै गर्दा निर्माता अर्जुन कुमारले भनेका थिए, ‘अब फिल्मको प्रचार गर्नका लागि मसँग केही नै छैन । फिल्मको फोटो समेत सकिसक्यो । फिल्मलाई कलाकारहरुको पनि साथ छैन ।’ करोडौंमा लगानी गरेर बनाएको फिल्म रिलिजको मुखमा हुँदा र कलाकारले प्रचारमा साथ नदिँदा निर्मातालाई कति छटपटि हुन्छ, त्यो बुझ्न गाह्रो पर्दैन ।
यतिबेला निर्माता अर्जुन कुमार आफ्नै हिसाबले फिल्मको प्रचार गरिरहेका छन् । शहरका भित्तामा पोस्टर टाङ्गनदेखि थर्मसमा स्टिकर टाँस्नसम्म उनी आफैं दौडिएका छन् । उनले कलाकारको साथ पनि खोजेका छैनन् । उता, महेश त्रिपाठीबाहेकका अरु कलाकारहरुले सामाजिक सञ्जालमा फिल्म पुष ३० गतेबाट रिलिज हुँदैछ भनेर जानकारी दिन समेत आवश्यक ठानेका छैनन् ।
फिल्म हिट हुँदा निर्माताको खल्ती भरिन्छ भने कलाकारलाई सफलताको श्रेय जान्छ । तर, फिल्म फ्लप हुँदा निर्माता त डुब्छन् नै, कलाकारको करिअरमा पनि असर पुग्छ । त्यसैले टिमभित्र जस्ता सुकै समस्या भए पनि रिलिजको मुखमा फिल्मको प्रचारमा सघाउनु कलाकारको धर्म हो । सामाजिक सञ्जालबाटै किन नहोस्, ‘चपली हाइट ३’ का कलाकारले आफ्नो धर्म निभाउनु पर्छ ।

