.jpg)
कान्तिपुर फिल्म एकेडेमीले पहिलो पटक निर्माण गर्न लागेको फिल्म ‘म’ को सोमबारबाट छायांकन सुरु भएको छ । काठमाडौंको महेन्द्र निधि अस्पतालबाट दृश्य खिच्न सुरु गरिएको फिल्ममा सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, सविन श्रेष्ठ, रुविना थापा, निराजन प्रधान, प्रमोद अग्रहरी, संजोग रसाइली, पुनम श्रेष्ठ मुख्य भूमिकामा छन् । यो फिल्मका निर्देशक सुवर्ण थापा हुन् ।
फिल्मको छायांकन सुरु भएसँगै मुख्य भूमिकामा अभिनेता नरेन खड्काको प्रवेश भएको छ । सोमवारबाटै उनले फिल्मको सुटिङ सेट ज्वाइन गरेका छन् । फिल्म ‘हमेशा’ बाट नायकको रुपमा डेब्यू गरेका उनले अहिले लगातार फिल्ममा काम गर्दै आएका छन् । गत मंसिर उनले डोल्पामा फिल्म ‘बुलाकी’ को सुटिङ सकाएका थिए । उनले ‘म’ मा जोडिन पाएकोमा खुसी व्यक्त गरेका छन् ।
उनले भने- ‘फिल्ममा काम गर्न राजी हुनुको कारण कथावस्तु र चरित्र मन परेर नै हो । साथै, मलाई सुवर्ण थापासँग काम गर्ने ठूलो इच्छा थियो । उहाँले निर्देशन गर्नुभएको ‘सुनगाभा’ एकदमै मन परेको थियो । उहाँबाट धेरै कुरा सिक्न पाउँछु भन्ने लागेको छ । अग्रज कलाकारसँग काम गर्न पाउनु मेरो लागि अर्को उपलब्धि हो ।’ उनले आफ्नो चरित्रको बारेमा भने जानकारी दिन चाहेनन् ।
कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीको लेखन रहेको फिल्ममा पदम पुरी सह-निर्माता र विमला हुँमागाइँ निर्मातामा छन् । करन सिंह प्रोडक्सन म्यानेजर रहेको फिल्ममा बनिष शाहको सम्पादन, तेन्जिन पाल्देनको छायांकन र सुजन परियारको कस्टुम डिजाइन रहनेछ । आफ्नो अस्तित्वको खोजीमा रहेका पात्रहरुको कथा भन्ने फिल्मको काठमाडौंमै सम्पूर्ण सुटिङ हुनेछ ।

