
फिल्म ‘कृ’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी अदिती बुढाथोकीलाई कोरोना संक्रमण भएको छ । मंसिर दोस्रो साता सिक्किममा फिल्म ‘बाबरी’ को छायांकन पूरा गरेर उतैबाट मुम्बई गएकी उनले बुधवार इन्स्टाग्राममार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् । मुम्बईको अस्पतालमा दुई चरणको भेरोसेल खोप लगाइसक्दा समेत उनलाई कोरोना संक्रमण भएको हो ।

र्यापर आशिष राना ‘लाउरे’ लाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । बुधबार राति पोखराको न्युरोडबाट ब्राउन सुगर किन्न लागेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाले जानकारी दिएका छन् ।

गत शुक्रवारबाट प्रदर्शनमा आएको कमेडी फिल्म ‘चुरीफुरी’ मा दर्शकको उपस्थिति अपेक्षाकृत देखिएको छैन । मल्टीप्लेक्समा दुई ठूला विदेशी फिल्मको चेपुवामा परेको फिल्मलाई सिंगल थिएटरको मात्र भरमा छ । जग्गा किनबेच र बैदेशिक रोजगारीमा हुने ठगीको कथालाई प्रस्तुत गरिएको फिल्मको माउथ पब्लिसिटी राम्रो रहेको निर्देशक ऋषिराज आचार्यले जानकारी दिएका छन् ।

यही शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको हरर जनरामा निर्मित फिल्म ‘कठपुतली’ को बुधवार कमलपोखरीस्थित बिग मुभिजमा गरिएको प्रिमियरमा फिल्मकर्मीबाट उत्कृष्ट प्रतिक्रिया मिलेको छ । प्रिमियरमा उपस्थित अधिकांशले कलाकारको अभिनय, निर्देशन, स्क्रिनप्ले, छायांकन, साउन्ड डिजाइन, लाइटिङ, फ्रेमिङ र सम्पादनको मक्तकण्ठले प्रशंसा गरेका थिए ।

फिल्म र रंगमञ्चको क्षेत्रमा स्थापित नाम हो, उषा रजक । ‘इकु, कुसुमे रुमाल २, कथा’ फिल्ममा अभिनय गरिसकेकी उनी रसियन नागरिकसँग विवाह गरेपछि किर्गिस्थान उडेकी थिइन् । त्यहाँ ७ वर्ष विताएकी उनले ८ वर्षपछि फिल्म ‘कठपुतली’ बाट अभिनयमा कमब्याक गरेकी छन् । यो फिल्ममा काम गर्नका लागि उनले श्रीमानसँग सम्बन्ध विक्षेद गरेको खबर समेत बाहिर आएको थियो ।

कोरोना महामारीका कारण बलिउड इन्डस्ट्रीले ठूलो नोक्सान बेहोर्नु पर्यो । कति फिल्म निर्माण हुन सकेनन् भने कति फिल्मको रिलिज रोकियो । तर, कलाकारको परिश्रमिक बढ्न भने कोरोनाले रोकेन । हालै बलिउडका निर्माता तथा निर्देशक करण जोहरले भनेका छन्, ‘ठूला स्टारले मात्र होइन, नयाँ कलाकारले पनि एउटा फिल्मका लागि २५-३० करोड माग्छन् । म दिक्कै भइसकेँ ।’

