कोरोना महामारीअघि नेपालमा फिल्म सम्बन्धि अवार्ड कार्यक्रम ‘च्याउँ उम्रे सरह’ आयोजना हुने गरेका थिए । प्रत्येक वर्ष १०/१५ वटासम्म अवार्ड हुन्थे । तर, चलचित्र विकास बोर्डले राष्ट्रपतिको हातबाट बाँड्ने राष्ट्रिय अवार्डदेखि प्राइभेट कम्पनीहरुले वितरण गर्ने अवार्डसम्म विवादरहित भने हुन सकेको छैन । नेपालमा अवार्ड गोटा गन्तीमा विक्री हुने गरेको आरोप लाग्दै आएको छ ।
नेपालमा बाँडिने अवार्डहरु किराना पसलमा चाउचाउभन्दा सजिलै विक्री-वितरण हुन थालेपछि अवार्डप्रति फिल्मकर्मीहरुकै रुची मर्दै गएको छ । अचेल अवार्ड कार्यक्रममा नाम चलेका कलाकारहरुको उपस्थिति औंलामा गन्न सकिने मात्र हुन्छ । उपस्थित भइहाले भने अवार्ड पाउने लगभग पक्का हुन्छ । आयोजकले पनि पर्चा बाँडे जसरी कसैलाई बेखुसी नबनाई अवार्ड बाँडिदिन्छन् ।
कोरोना महामारीका कारण दुई वर्षमा एकाध मात्र फिल्मको अवार्ड भयो । यो बीचमा म्यूजिक भिडियोको अवार्ड भने दिनैपिच्छे भइरहेका छन् । फिल्मका अवार्ड जस्तै अहिले म्यूजिक भिडियोको अवार्डमा पनि विक्री-वितरणको प्रथा मौलाएको सुन्नमा पाइन्छ । केही नाम चलेका कलाकारलाई भने कामको मुल्यांकनभन्दा मिडियामा चर्चाका लागि आयोजकले अवार्ड बाँड्ने गरेका छन् ।

कोरोना महामारीयता आयोजना भएको म्यूजिक भिडियोको अवार्ड कार्यक्रममा उत्कृष्ट मोडलको अवार्ड थाप्नका लागि दौडधुप गरेका कलाकारमा पर्छन्, पल शाह र पूजा शर्मा । कोरोना महामारीका कारण फिल्मको काम ठप्प हुँदा उनीहरुले ठूलो संख्यामा म्यूजिक भिडियोमा अभिनय गरेका छन् । जसले गर्दा म्यूजिक भिडियोको अवार्डमा उनीहरु नोमिनेशनमा पर्नु सामान्य कुरा हो ।
तर, पल र पूजा उपस्थित भएको अवार्ड कार्यक्रममा उनीहरु मात्रै उत्कृष्ट मोडल घोषित हुनु आफैंमा आश्चर्यको कुरा हो । उनीहरु नआएको खण्डमा मात्र आयोजकले अरु कलाकारलाई अवार्ड बाँड्ने गरेको देखिएको छ । गएको दुई वर्षको अवधिमा पल र पूजा जुन-जुन म्यूजिक भिडियोको अवार्ड कार्यक्रममा उपस्थित भएका छन्, त्यहाँबाट उनीहरु खाली हात घर फर्किएको रेकर्ड छैन ।
गत असोजमा आयोजित ‘नेपाल बेष्ट म्युजिक अवार्ड’ मा पूजाले चन्द्रागिरी पुगेर उत्कृष्ट मोडलको अवार्ड उचालेकी थिइन् । त्यहाँ पलले पनि पपलुर मोडलको अवार्ड पाएका थिए । तर, उनी उपस्थित हुन नसक्दा उनको अवार्ड दुर्गेश थापाले घर पुर्याइदिए । गत मंसिरमा भएको तेस्रो ‘एपिक नेपाल म्युजिक अवार्ड’ मा भने पल स्वयं आधुनिक मोडलको अवार्ड लिनका लागि पुगेका थिए ।
यसैक्रममा, सोमवार भएको ‘जीवन्त नेपाल म्यूजिक भिडियो अवार्ड’ मा पल र पूजा दुवै उपस्थित भएका थिए । त्यहाँ उनीहरुलाई देखेपछि ‘अब उत्कृष्ट मोडलको अवार्ड अरुले पाउँदैन’ भनेर कानेखुसी चलेको थियो । नभन्दै दुवैले उत्कृष्ट मोडलको अवार्ड जिते । पूजा अवार्ड थाप्ने वितिक्कै लुसुक्क घर लागिन् । पलले भने कामको मुल्यांकन भएर अवार्ड पाउँदा खुसी लाग्ने बताएका छन् ।
पल र पूजा अवार्ड कार्यक्रममा उपस्थित हुँदा यूट्युबका क्यामेराको ताँती लाग्छ । उनीहरुले केही बोलिदिए समाचारको हेडलाइन बन्छ । यही लोभले पनि आयोजकहरुले अवार्ड दिने सर्तमै उनीहरुलाई बोलाउने गरेको चर्चा चल्ने गरेको छ । अवार्ड पाउने निश्चित भएपछि पल र पूजा पनि सबै काम छाडेर पुगिदिन्छन् । यसो हुँदा अवार्ड पाउने पनि खुसी, दिने पनि खुसी । सकिएन त !

