.jpg)
गत जेठ १५ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘रोल नं. १’ले घरेलु बक्स अफिसमा १ करोड ७७ लाख ६ हजार ५८३ रुपैयाँ ग्रस कमाइ गरेको छ । सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको फिल्मको उक्त कमाइ हिजो आइतबार (२८ असार)सम्मको हो । फिल्मले पछिल्लो सात दिनमा २ लाख २० हजार ९२५ रुपैयाँ कमाइ गरेको देखिन्छ ।
कीर्तिमानी फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले निर्माण गरेको ‘रोल नं. १’को आइतबारसम्म ७० हजार ६७४ वटा टिकट बिक्री भएका छन् । यस वर्ष डेढ करोडमाथि कमाउने यो तेस्रो फिल्म हो । यसअघि ‘लालीबजार’ले ९ करोड र ‘परालको आगो’ले ४ करोडमाथिको कमाइ गरेका थिए । अरु फिल्म भने डेढ करोडमुनि नै छन् ।
यस वर्ष सबैभन्दा कम कमाउने फिल्म ‘जाँड’ बनेको छ । बोर्डको तथ्यांकअनुसार फिल्मले हिजो आइतबारसम्म डेढ लाख पनि कमाउन सकेको छैन । फिल्मले ६२१ वटा टिकट बिक्रीबापत जम्मा १ लाख २६ हजार ५ रुपैयाँ कमाइ गरेको छ । यसबाट हलको सेयर र कर काटेर आउँदा निर्माताको हातमा १० हजार रुपैयाँ पनि पर्दैन । अर्थात् फिल्मको लगानी पूर्ण रूपमा डुबेको छ ।
अहिले हलहरूमा नेपाली फिल्म ‘भागदौड’ मात्र छ । यो फिल्म गत शुक्रबार (२६ असार)बाट प्रदर्शनमा आएको हो । तर, यसले पनि दर्शक तान्न सकेको छैन । धेरै हलले फिल्म उतारिसकेका छन् । जेठयता नेपाली फिल्म अपेक्षित रूपमा नचल्दा हल व्यावसायीहरू विदेशी फिल्मको भरमा देखिएका छन् । तर, विदेशी फिल्महरू पनि अपेक्षित चलेका छैनन् ।

