
‘पप सम्राट’ माइकल ज्याक्सनको जीवनमा आधारित फिल्म ‘माइकल’ विश्व बक्स अफिसमा १ अर्ब डलर पार गर्ने पहिलो बायोपिक बनेको छ । यसले कमाइमा सन् २०२३ को ‘ओपेनहाइमर’लाई पछि पारेको हो । भौतिकशास्त्री जे. रोबर्ट ओपेनहाइमरको जीवनमा आधारित यो फिल्मको विश्वव्यापी कमाइ ९७ करोड ५० लाख डलर थियो ।
‘माइकल’ले अन्तर्राष्ट्रिय बजारबाट ६२ करोड ९८ लाख डलर र उत्तर अमेरिका (घरेलु बजार)बाट ३७ करोड १८ लाख डलर कमाएको भेराइटीले जनाएको छ । योसँगै फिल्मको कुल कमाइ १ अर्ब १० लाख डलर (१.००१ अर्ब डलर) पुगेको छ । फिल्मले उत्तर अमेरिकामा पहिलो सप्ताहन्तमै ९ करोड ७० लाख डलर र विश्वभर २१ करोड ७० लाख डलरको ओपनिङ गरेको थियो ।
सन् २०२६ मा हालसम्म १ अर्ब डलर क्लबमा प्रवेश गर्ने अर्को फिल्म ‘द सुपर मारियो ग्यालेक्सी मुभी’ हो, जसले विश्वभर १ अर्ब ८० लाख डलरभन्दा बढी कमाइसकेको छ । त्यस्तै, डिज्नीको ‘टोय स्टोरी ५’ले हालसम्म ८७ करोड ९१ लाख डलर कमाएको जनाइएको छ । यो फिल्म पनि यस वर्षको तेस्रो १ अर्ब डलर क्लबमा प्रवेश गर्ने फिल्म बन्ने अपेक्षा गरिएको छ ।
एन्टोइन फुक्वाको निर्देशनमा बनेको ‘माइकल’मा ज्याक्सन फाइभबाट सुरु भएर ‘किङ अफ पप’ बन्नेसम्मको माइकल ज्याक्सनको यात्रालाई प्रस्तुत गरिएको छ । फिल्ममा माइकलको भूमिका जाफार ज्याक्सनले निभाएका छन्, जो माइकलका आफ्नै भतिजा हुन् । फिल्ममा कोलम्यान डोमिङ्गो, निया लङ र माइल्स टेलरको पनि मुख्य भूमिका रहेको छ ।

