
यतिबेला हलमा नेपाली फिल्मको अभाव छ । आधा दर्जनभन्दा बढी हलिउड र बलिउड फिल्म प्रदर्शन भइरहँदा नेपाली भने एउटा पनि छैन । गत जेठयता प्रदर्शनमा आएका फिल्महरूले अपेक्षित व्यापार नगर्दा हलमा यो अवस्था सिर्जना भएको हो । अब यही शुक्रबार (१ साउन)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘गौँथली’प्रति धेरैको आशा छ ।
सोमबार काठमाडौंमा भएको प्रिमियरमा वाहवाही बटुलेको यो फिल्मको देशभरका अधिकांश हलमा टिकट बुकिङ खुला भइसकेको छ । फिल्मलाई हलहरूले सन्तोषजनक शो दिएका छन् । बुधबार दिउँसो ३ बजेसम्म फिल्मले देशव्यापी लगभग ९० शो पाएको खल्ती एपमा देखिन्छ । बिहीबार साँझसम्म फिल्मको शो संख्या २ सय नाघ्ने वितरकको विश्वास छ ।
‘गौँथली’लाई अब सबैभन्दा ठूलो चुनौती उपलब्ध शोलाई अकुपेन्सीमा बदल्नु हो । बिहीबार साँझसम्मको टिकट बुकिङको ट्रेन्डले फिल्मको ओपनिङको प्रस्ट संकेत गर्नेछ । फिल्मको व्यावसायिक भविष्य भने दर्शकीय प्रतिक्रियामा निर्भर हुनेछ । फिल्मले एकल रिलिजको अवसर पाएका कारण व्यापार सन्तोषजनक हुने अपेक्षा गरिएको छ ।
डा. कपिल रिजालको निर्देशनमा बनेको यस फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, रवीन्द्र झा, लुनिभा तुलाधर, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना, अंशु ओली, प्रिन्स नेपालीलगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मले बाल विवाहलाई केन्द्रमा राखेर श्रीमान् श्रीमतीको सम्बन्धको कथा पेस गरेको छ ।

