Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

७ वर्षपछि फिल्ममा फर्किँदै गोविन्दा

एजेन्सी, काठमाडौं, 2026/07/15

govinda  movie

 

बलिउडका अनुभवी अभिनेता गोविन्दाले ७ वर्षपछि फिल्ममा पुनरागमन गर्ने भएका छन् । पछिल्लो पटक सन् २०१९ मा प्रदर्शन भएको फिल्म ‘रंगीला राजा’मा देखिएका उनी यस वर्ष दुई नयाँ फिल्ममा काम गर्ने तयारीमा छन् । सोमबार मुम्बईमा आयोजित एक कार्यक्रममा उनले आफ्ना दुई फिल्म ‘रूपा’ र ‘दुनियादारी’बारे जानकारी दिए । 

‘रूपा’लाई गोविन्दा आफैँले निर्माण गर्नेछन् । फिल्ममा मुख्य अभिनेत्रीको रूपमा कोमल रानी स्वर्णकार रहेकी छन्, जसको यो डेब्यू फिल्म हो । फिल्मको निर्माण घोषणा तथा पोस्टर सार्वजनिक कार्यक्रममा गोविन्दाले भने– ‘यो फिल्म विशेषगरी युवालाई लक्षित गरेर निर्माण हुनेछ । फिल्मले युवाहरूलाई सपना देख्न र ती सपना पूरा गर्न विश्वास जगाउने प्रेरणा र ऊर्जा दिनेछ ।’

कार्यक्रममा उनले आफ्नो करिअरका उतारचढाव पनि सम्झिए । उनले भने– ‘सायद मेरो भाग्यमै धेरै पटक अन्त्य भनेर लेखिएको थियो । मानिसहरूले बारम्बार भने– अब गोविन्दा फिल्ममा देखिँदैनन् । तर, म हरेक पटक फेरि उठेर अघि बढेँ । भगवान्सँग प्रार्थना छ, यो फिल्मले मैले देखेका सपना पूरा गरोस्, मानिसहरूले कल्पना पनि नगरेको सफलता हासिल गरोस् ।’

उनले आफ्नो जीवनमा १४ अंक शुभ रहेको समेत दाबी गरे । १४ वर्षको उमेरदेखि अंकशास्त्रमा विश्वास गर्न थालेको बताउँदै उनले भने– ‘एकै सातामा सम्झौता गरेका १४ फिल्मले मलाई १४ वर्षसम्म सुपरस्टार बनायो । त्यसपछि १४औँ लोकसभामा सांसद बनेँ । त्यसपछिका १४ वर्ष भने संघर्षमै बिते । अब फेरि फिल्ममा फर्किएको छु । आशा छ, यहीँबाट मेरो नयाँ यात्रा सुरु हुनेछ ।’

गोविन्दा १९९० को दशकका सबैभन्दा सफल सुपरस्टारमध्ये एक मानिन्थे । करिअरको उत्कर्षमा रहँदा उनका हरेक फिल्मले बक्स अफिसमा कीर्तिमान बनाए । तर, उनका पछिल्ला केही फिल्मले अपेक्षित सफलता हासिल गर्न नसकेपछि उनी ७ वर्ष अभिनयबाट टाढा रहे । अब ‘रूपा’ले आफ्नो करिअरको नयाँ इनिङ्सको सुरुवात गर्नेमा उनी विश्वस्त छन् ।