Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

महजोडीको ‘महापुरुष’ कात्तिक ११ मा आउने, यस्तो छ फर्स्टलुक

फिल्मीखबर, काठमाडौं, 2022/08/07
‘जात्रा’ फेम्ड निर्देशक प्रदीप भट्टराईको निर्देशनमा बनेको फिल्म ‘महापुरुष’को दुईवटा फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । हालै छायांकन सकिएको फिल्मले हिन्दूहरुको महान पर्व भाईटीकालाई लक्षित गर्दै आगामी कात्तिक ११ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । यसअघि यो फिल्म दशैंमा आउने चर्चा थियो । तर, निर्माण टिमले तिहार रोजेको छ ।
 
एउटा फर्स्टलुक पोस्टरमा फिल्मका प्रमुख कलाकार द्वय हरिवंश आचार्य र गौरी मल्ल बेहुला र बेहुलीको भेषमा देखिएका छन् । उनीहरुको घाँटीमा दुबोको माला देख्न सकिन्छ । पृष्ठभूमिमा भने दुई पात्र आँखामा कालो पट्टी बाँधेर कुदेका छन् । त्यस्तै, दोस्रो पोस्टरमा हरिवंश आचार्य पिंजडामाथि बसेको सुँगालाई हेर्दै मुस्कुराइरहेको अवस्थामा प्रस्तुत छन् । यसमा उनको लुक्स भिन्न छ । 
 
movie mahapursha
 
दीपेश खत्री निर्माता र रविन्द्रसिंह बानियाँ कार्यकारी रहेको फिल्ममा मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रबिन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, राजाराम पौडेल, अञ्जना बराइली, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ,  नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौडेल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य लगायतको पनि अभिनय छ । 
 
षट्कोण आर्टस्को ब्यानरमा निर्माण भएको फिल्मको कथा लेखन प्रदीप भट्टराई स्वयंको हो । ‘शत्रुगते’पछि महजोडीसँग निर्देशक भट्टराईको दोस्रो सहकार्य हो । दीपक बज्राचार्यले फिल्म खिचेका हुन् । फिल्ममा मित्र डी. गुरुङको सम्पादन, नवराज पराजुलीको गीतमा शब्द रचना, रोहित शाक्य र शैलेश श्रेष्ठको पार्श्व संगीत, जुनिम गहतराजको कलर र किशोर आचार्यको ध्वनि संयोजन छ । 
 
लामो समय मह सञ्चारमा रहेर काम गरेका प्रदीपले आफ्नोतर्फबाट महजोडीलाई ‘महापुरुष’ ट्रिब्यूट रहेको बताएका छन् । उनी भन्छन्, ‘मैले उहाँहरुबाटै फिल्मको ज्ञान लिएको हुँ । र, मैले वर्षौंसम्म सिकेको कुरा उहाँहरुलाई यो फिल्ममार्फत् दिँदैछु ।’ फिल्म निर्देशन गर्नुअघि उनले मह सञ्चारको केही लघु फिल्म निर्देशन गरेका थिए । जुन प्रदीपका लागि निर्देशन निखार्ने अवसर थियो ।
Most Visited News (monthly)