Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आ बाट आमा २’मा भित्रिइन् ‘श्री बुकुरो’की हिरोइन

फिल्मीखबर, काठमाडौं, 2026/05/28

nikita acharya

 

चन्द्र पन्तको निर्देशनमा बन्न लागेको फिल्म ‘आ बाट आमा २’मा दोस्रो अभिनेत्रीको टुंगो लागेको छ । फिल्ममा निकिता आचार्य अनुबन्धित भएकी हुन् । बिहीबार काठमाडौंमा निर्देशक पन्त र निकिताबीच लिखित सम्झौता भएको हो । केही दिनअघि मात्र ‘मेरो डान्स युनिभर्स– २’की विजेता रिश्ता गुरूङलाई फिल्ममा अनुबन्धित गरिएको थियो । 

निकिताको यो पहिलो फिल्म भने होइन । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘खेल’बाट उनले डेब्यू गरेकी थिइन् । उनको दोस्रो फिल्म ‘श्री बुकुरो’ गत फागुनमा प्रदर्शन भएको थियो । अभिनयको हिसाबले ‘आ बाट आमा २’ उनको तेस्रो फिल्म हुनेछ । उनले ‘यौटा सपनाको अवसान’ नामक नाटकमा समेत अभिनय गरेकी छन् । 

दशैंको अवसर पारेर असोज ३० गते (फूलपातिको अघिल्लो दिन)बाट प्रदर्शनमा आउने यस फिल्ममा विपना थापा, पल शाह, आकाश श्रेष्ठ, सविन श्रेष्ठ, प्रदीप रावत (गजनी भिलेन), साइग्रेस पोखरेल (स्टोरीटेलर), गजित विष्ट, दीलिप ओखेडा, नरेन खड्कालगायतका कलाकारहरूको पनि अभिनय रहनेछ । फिल्मको छायांकन जेठ १८ गतेबाट सुरु हुँदैछ । 

यस फिल्मको कथा तथा पटकथा निर्देशक पन्त स्वयंले तयार पारेका हुन् । आर्या इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको प्रोडक्सन म्यानेजर तथा कार्यकारी निर्मातामा करण सिंह रहेका छन् । यो फिल्म गत वर्ष प्रदर्शनमा आएको ‘आ बाट आमा’को सिक्वेलको रूपमा निर्माण हुन लागेको हो । फिल्मको पहिलो भाग सकिएको ठाउँबाट कथा अघि बढ्ने जनाइएको छ ।

Most Visited News (monthly)