डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’को टिजर सार्वजनिक गरिएको छ । आगामी साउन १ गतेबाट प्रदर्शनमा आउने यस फिल्मको टिजरमा मुख्य पात्रको कथा समेटिएको छ । पढ्ने इच्छा हुँदाहुँदै परिवारको दबाबमा विवाह भएपछि एक युवतीले श्रीमानको घरमा भोग्नुपरेको हिंसा र दुर्व्यवहारलाई टिजरले देखाएको छ ।
टिजरको केन्द्रमा सिम्रन खड्का छिन् । अजिटम (स्नायु विकाससम्बन्धी समस्या) भएका युवकसँग विवाह भएपछि उनले श्रीमान् र सासुबाट सहनुपरेको शारीरिक र मानसिक यातनालाई टिजरमा देखाइएको छ । घरमा आमाले भने उनलाई राम्रो परिवारमा विवाह भएको भन्दै सम्झाइरहेको देख्न सकिन्छ । टिजरका संवाद र दृश्यहरू मर्मस्पर्शी छन् ।
वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको कथामा बनेको यस फिल्ममा सिम्रनसहित मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, अरुण क्षेत्री, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना, अंशु ओली, प्रिन्स नेपाली, राजेन्द्र नेपालीलगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस फिल्मका निर्मातामा सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् भने सरला रिजाल कार्यकारी निर्मातामा छिन् । फिल्ममा हरि हुमागाईंको छायांकन तथा कपिल रिजाल, निश्चल कुँवर, अभिमन्यू निरवी, शिव शर्मा, निरज नेपाल र गिरिराज घिमिरेको पटकथा तथा संवाद लेखन रहेको छ ।

